काठमाडौं । युवा अर्थशास्त्री डा. दधि अधिकारीले मुलुकको विकासका लागि राजनीतिक र प्रशासनिक नेतृत्वमा कुनै इच्छाशक्ति नै नभएको टिप्पणी गरेका छन् । देशको विकास नहुनुमा आम नागरिकको कुनै भूमिका नरहेको उल्लेख गर्दै अधिकारीले राजनीतिक र प्रशासनिक नेतृत्वले चाहेमा जनतालाई विकास निर्माणमा सजिलै सहभागी गराउनसक्ने बताए ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्दै आएका अधिकारी अमेरिकाको न्यू मेक्सिको विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनी मुलुकको समसामयिक अर्थ राजनीतिका विषयमा सुक्ष्म अध्येतासमेत हुन् । अधिकारीले सोमबार बिहान फेसबुकमा मुलुकको विकास हुन नसक्नुका कारणबारे लामो टिप्पणी गरेका छन् ।
प्रस्तुत छ, डा. अधिकारीको टिप्पणी जस्ताको तस्तैः
कुनै पनि समस्याका अनेक आयाम हुन सक्छन् । नेपालको पछौटेपन र बेढङ्गी विकास (जस्तै अबैज्ञानिक रिङरोड) का पनि अनेक आयाम हुन सक्छन् र छन् पनि । समस्याका यी विभिन्न आयाम मध्ये थाहा नपाउनु र नदेख्नु पनि एक हो ।
उदाहरणको लागि दुर्गम गाँउको पालिका अध्यक्ष जो आफ्नो जिल्ला बाहिर कतै गएको छैन उसले आफ्नो पालिकामा बाटो निर्माण गर्दा पक्कै पनि अमेरिकाको 140 वा यूरोपको E6 जस्तो बाटोको निर्माण गर्न सक्तैन । यसमा ति अध्यक्षको गल्ती होइन । यसमा ज्ञानको कमी जिम्मेवार हुन्छ र यस्ता कमजोरी शसक्तिकरणका माध्यमबाट हटाउन सकिन्छ ।
अर्कोतर्फ नेपालका अधिकृत भन्दा माथिका कर्मचारी र कुनै पनि राष्ट्रिय स्तरका पार्टीका केन्द्रिय स्तरका नेता र केन्द्रिय सदस्यहरु मध्ये सायद नगन्य मात्र विदेश नगएका वा नदेखेका होलान । देश विकासका नीति निर्माण तथा योजना कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी वास्तवमा नेता र कर्मचारीहरुको नै हो ।
आम जनताले त उनिहरुले भनेको मान्ने र सिको गर्ने हो । यस्तो अवस्थामा अर्थात विकास निर्माणका संवाहक नेता तथा कर्मचारमिा के हुनु पर्दछ भन्ने ज्ञान र अनुभव हुँदा हुँदै पनि पछौटेपन, अव्यवस्था, अपारदर्शिता र बेढङ्गी विकास किन भएको होला अध्ययनको विषय हुन सक्छ ।
अन्यथा आम जनतालाई राहत दिने सामान्य कामहरु जस्तै सडकमा वत्ति राख्ने, अस्पतालमा लाइन बस्न नपर्ने गरि व्यवस्था मिलाउने, विभिन्न दस्तुर तिर्न घण्टौ लाइन बस्न नपर्ने, सार्वजनिक यातायात सहज बनाउने आदि ईत्यादी जस्ता काम गर्न न त धेरै श्रोत चाहिन्छ न त ति काम गर्न काम गर्न नेता तथा कर्मचारीमा ज्ञानको अभाव छ । तर पनि ति काम हुन नसक्नुमा नसकेर भन्दा पनि नचाहनु प्रमुख कारण हो भन्ने मा कुनै शंका छैन ।
प्रतिक्रिया