काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई फाइनान्स कम्पनी र ३ विकास बैंकलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सलाई न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको छ ।
साथै, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै ५ लाख रुपैयाँ जरिवाना पनि गरेको छ । पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा ४६ हजार ७१८.३ रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यता, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।
मुक्तिनाथको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएपछि राष्ट्र बैंकले सचेत गराएको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम चुक्ता पुँजी र पुँजीकोष अनुपात कायम नगरेको, तोकिएको सीमा भन्दा बढी निक्षेप संकलन गरेको र एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नारायणीको सञ्चालक समितिलाई न्यूततम चुक्ता पुँजी तथा पुँजीकोष अनुपात २०८२ असार मसान्तभित्र अनिवार्य कायम गर्न र निर्देशनहरु पालना गर्न लिखित आदेश दिएको छ ।
सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्ता पुँजी हालसम्म पनि कायम नगरेको तथा तोकिएको चुक्ता पुँजी पुर्याउनका लागि दिइएका निर्देशनहरु पनि पालना नगरेको राष्ट्र बैंकले जनाएको छ । जसका लागि सालपाको सञ्चालक समितिलाई नसिहत दिइएको राष्ट्र बैंकले जानकारी गराएको छ ।










प्रतिक्रिया