काठमाडौं । भारतीय नाकाबन्दीका कारण करोडौंको प्याज र फलफूल नाकामै रोकिँदा कति व्यवसायी सडकमा आए ।
कोरोना महामारीका कारण नेपालमा पर्यटक नै नआउँदा र नेपालबाट बाहिरिने पनि ठप्प हुँदा कति ट्राभल एजेन्सीहरुको कर्जाको धितो नै लिलाम हुने अवस्था आयो ।
महामारीपछिको आर्थिक मन्दीले व्यवसाय नचल्दा मिटरब्याजमा ऋण लिएर व्यवसाय गर्नेहरुको अवस्था कस्तो होला ?
आम स्वरोजगार नागरिकको यस्तै कथाहरु बुनिएको एक घरभित्रको कथा हो ‘के घर, के डेराः घर नं. २’ ।
पशुपति प्रसाद, आमा, धनपति, चपली हाइट, झोलेजस्ता सफल चलचित्रको निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र के. खनालको यस चलचित्रमा खगेन्द्र लामिछानेसहित केकी अधिकारी, आर्यन सिग्देल, निश्चल बस्नेत, प्रकाश घिमिरे, उपासनासिंह ठकुरीलगायतका उम्दा कलाकारले अभिनय गरेका छन् ।
इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले व्यवसायमा आएका समस्या समाधान गर्न नसक्दा नयाँ वानेश्वरको सडकमै गर्नुपरेको आत्महत्याको कथालाई पनि यस चलचित्रले बोकेको छ ।
काठमाडौंलगायत देशैभर अहिले साना व्यवसायीमा जुन समस्या छ, त्यसलाई ‘के घर, के डेराः घर नं. २’ले जीवन्त चित्रण गरेको छ ।
बैंकको ऋणले निम्तिने समस्या, महिलाको विवाहपूर्वको सम्बन्धले ल्याउने समस्या, साइबर अपराध, मिटर ब्याजलगायतका समाजका जल्दाबल्दा विषयलाई छोएको चलचित्रमा निस्वार्थ प्रेम सम्बन्धदेखि सहयोगी मनसम्मका कथा बुनिएका छन् ।
चलचित्र हेर्दा कतै पट्यारलाग्दो र पचाउन नसकिने दृष्य नहुनु नै यसको सबल पक्ष हो भने आम दर्शकले चलचित्रमा आफ्नै र आफ्नै समाजको कथा पाउँछन् ।
घरबेटी र डेरावाल सबैका आफ्नै पीडा बोक्ने यस चलचित्रका निर्माता युवराज कार्की, नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् ।
भावुक दृष्य र जीवन्त अभिनयका कारण चलचित्र हेर्ने दर्शकको मन छुनेछ ।










प्रतिक्रिया