Logo

Banner-news

नेकपानिकट पर्यटनकर्मीको जोर चलेन, स्याङ्जाका धनञ्जय रेग्मी बोर्डको सीईओ


GDP Nepal
   १४ माघ २०७६, मंगलबार


काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा छनोट समितिले गरेको सिफारिस उल्ट्ययाएर पार्टी कार्यकर्ता बच्चुनारायण श्रेष्ठलाई जसरी पनि सीईओ बनाइछाड्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनिकट पर्यटन व्यवसायीको प्रयास बिफल भएको छ ।

बोर्डमा खुला प्रतिस्पर्धाबाट सबैभन्दा बढी नम्बर ल्याएका डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा अघिल्लो साता रोकिएको सीईओ छनोटले मंगलबार भने पूर्णता पाएको हो । नेकपा निकट पर्यटन व्यवसायीले रेग्मीलाई डा. गोविन्द केसीको अभियानमा समर्थन गर्ने व्यक्ति भएको भन्दै रोक्न दबाब दिएका थिए । प्रधानमन्त्रीले पनि सिफारिस उल्ट्याउन दबाब दिएपछि सचिव अधिकारी रोकिएका हुन् ।

नवनियुक्त सीईओ रेग्मी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नजिकका मित्रसमेत हुन् । उनी भौगर्भिक तथा आयुर्वेदिक अन्वेषक हुन् भने उनले केही पहिले अटो व्यवसायमा हात हालेका थिए ।

बोर्डको मंगलबार बसेको बैठकले छनौट समितिको सिफारिस बमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो ।

छनोट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो ।

रेग्मीले नेपालको समग्र पर्यटन उद्योगको विकासका लागि योजना बनाएर काम गर्ने भन्दै तत्कालको प्राथमिकता भ्रमण वर्ष २०२० लाई सफल बनाउनु रहेको प्रतिक्रिया दिएका छन् । ।

प्रकाशित : १४ माघ २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह