Logo

कर्पोरेट-बजार

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित


GDP नेपाल
   १२ जेष्ठ २०८२, आइतबार


काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन् । संघको १८औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा अध्यक्ष दीपक कुँवरको नेतृत्वमा १४ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।

संघको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, दितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल, तृतीय उपाध्यक्षमा रोशन भयोध्यो, महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य र कोषाध्यक्षमा निश्चल बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, कार्यकारिणी सदस्यहरुमा डेगेन्द्र कुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रश्रित भयोध्यो, सिद्धान्त बिक्रम धमला र आभाष कुँवर रहेका छन्।

साथै, नवनिर्वाचित अध्यक्ष कुँवरको कार्य समितिले बैठक बसी आईएमएस डेभलपर्स प्रा.लि.का मुख्य व्यवस्थापक अरनिको सिंहलाई कार्यकारणी सदस्यमा मनोनीत गरी सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिमा बुध्दिनारायण श्रेष्ठ, मिनमान श्रेष्ठ, इच्छाबहादुर वाग्ले, प्रकाश आचार्य, ओम बहादुर राजभण्डारी, दिपक मल्होत्रा, कालु गुरुङ र टंकबहादुर श्रेष्ठ रहेका छन्।

सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष कुँवरले रियल इस्टेट व्यवसायलाई प्रवर्धन गर्नको लागि राज्यले यस सम्बन्धी कानुनहरुमा सुधार गरी सहजीकरण गरिदिनुपर्ने बताउँदै पूर्वाधार विकासको क्षेत्रमा व्यवसायीहरु लगानी गर्न तत्पर रहेको र युवालाई देशभित्रै उद्योग गर्ने अवसर प्रदान गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी संघको नयाँ कार्य समितिको कार्यकारिणी सदस्यमा युवाहरु समेतलाई चयन गरिएको बताए ।

कार्यक्रमका विशेष अतिथि एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यको राजस्व नै धानेको घरजग्गा क्षेत्रलाई नियन्त्रण गर्नु हुँदैन र घरजग्गा क्षेत्रलाई नकारात्मक रुपमा हेर्नु नहुने सुझाव दिँदै घरजग्गा सम्बन्धी कानुनहरुमा समय सापेक्ष रुपमा सुधारहरू गर्नुपर्ने र घरजग्गा क्षेत्रमा हदबन्दी हटाउनुपर्नेमा जोड दिए । साथै उनले व्यवसायीहरूको संलग्नतामा पब्लिक कम्पनी खोलिएकोले सबैलाई सहभागी हुन आग्रह गर्दै संघसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाए ।

सो अवसरमा एफएनसीसीआईका वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले खरिद गरेको जग्गा सरकारी अथवा राष्ट्रिय सम्पत्ति बनाउन खोज्नु नहुने र निजी लगानीमा खरिद गरेको जग्गा राज्यको नहुने बताउँदै घर जग्गा क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्राले रियल इस्टेट व्यवसाय नफस्टाएका कारण विभिन्न आर्थिक समस्या देखापरेको धारणा राख्दै भूमि सम्बन्धी विधेयक चाँडै पारित होस् भन्ने व्यवसायीहरूको चाहना रहेको र जग्गा खरिद बिक्रीको रजिस्ट्रेसन दस्तुर घटाउनुपर्ने माग राखे।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले कालो धनलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा रियलस्टेट क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याए । उनले व्यवसायीहरूको माग सम्बोधन गर्न नेपाल सरकारले कार्य गरिरहेको जानकारी दिँदै घरजग्गा व्यवसायको लागि हदबन्दी छुट दिने उद्देश्यले विधेयक पारित गर्ने क्रममा रहेको बताए। उनले स्थानीय निकायहरुले जग्गा वर्गीकरण नगरेका कारण कित्ताकाटमा समस्या आउन सक्ने आशंका समेत व्यक्त गरे ।

साथै, नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले शहरी ऐन छिट्टै जारी गर्नुपर्ने र घरजग्गा व्यवसायीहरूलाई हदबन्दी छुट दिनुपर्ने कुरामा जोड दिँदै घरजग्गा व्यवसायीहरूको पहलमा स्थापना गरिएको नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलप्मेन्ट कम्पनीमा लगानी गर्न आग्रह गरे ।

प्रकाशित : १२ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह