काठमाडौँ । सुनचाँदी क्षेत्रका तीनवटै महासंघले अनावश्यक रुपमा मूल्य अभिवृद्धि कर थपिएको बताउँदै गम्भीर आपत्ति जनाएका छन् । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा-जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्न माग गरेका हुन् ।
“सम्पूर्ण गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि करप्रति आपत्ति जनाएका हुन् । यस बजेटले निर्यातमुखी उद्योगलाई ‘बन्डेड वेयरहाउस’ सुविधा उपलब्ध गराउने तथा ५० प्रतिशत अग्रिम भुक्तानी भएको अवस्थामा आवश्यक सुनचाँदी उपलब्ध गराउने अलग व्यवस्था गरिदिने प्रतिवद्धता पनि अत्यन्तै सकारात्मक छ । यी व्यवस्थाका लागि हामी नेपाल सरकारप्रति आभार प्रकट गर्न चाहन्छौं”, विज्ञप्तिमा भनिएको छ “तर, यति हुँदाहुँदै पनि, ब्यवसायीको विरोधका बावजुद पनि अघिल्लो वर्ष १० लाखभन्दा माथिका गरगहनामा मात्र लागू हुँदै आएको विलासिता कर यस वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर र हिरा–तथा बहुमुल्य पत्थर जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर प्रति हाम्रो गहिरो आपत्ति रहेको छ ।”
त्यस्तै, महासंघले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न ऐन, नियम तथा नीतिहरू निर्माण गर्नुपर्ने, कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरेर मात्र करको दायरा बढाउनुपर्ने माग राखेका छन् ।
साथै, गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको व्यवस्था गर्नुपर्ने, बैंकहरुवाट निकासी गर्ने साना उद्योगका लागि १०० तथा २०० ग्रामको सुन आपूर्ति नगरिएको हुँदा सानो–सानो परिमाणमा सुनका गरगहना निकासी गर्न नसकीएकोले त्यसतर्फ ध्यान दिनुपर्ने र निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने महासंघका माग रहेका छन् ।








प्रतिक्रिया