काठमाडौं । नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले नेपाल र म्यानमारबीच सिधा हवाई उडानका लागि पहल गर्ने भएको छ ।
बुधबार सम्पन्न चेम्बर कार्यसमितिको बैठकले नेपालमा म्यानमारबाट ठूलो संख्यामा धार्मिक पर्यटक ल्याउन सकिने सम्भावना भए पनि सिधा हवाई उडान नहुँदा पर्यटकहरु आउन नसकेकाले यस विषयमा सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरेको चेम्बर अध्यक्ष शिवकुमार अग्रवालले जानकारी दिए ।
उनका अनुसार म्यानमारमा बुद्धमार्गीको ठूलो संख्या रहेको छ । जसका लागि नेपलाको बुद्ध जन्मस्थल लुम्बिनी सबैभन्दा ठूलो तिर्थस्थल हो । अग्रवालका अनुसार बौद्धमार्गी म्यानमारका जनताको जीवनमा एकपटक लुम्बिनी आइपुग्ने रहर हुन्छ । तर सिधा उडान नहुँदा उनीहरुको यात्रा खर्च निकै महँगो पर्न जान्छ ।
म्यानमारको राष्ट्रिय ध्वजाबाहकले नेपालमा सिधा उडानको लागि प्रक्रिया अघि बढाए पनि नेपालकोतर्फबाट ढिलासुस्ती भइरहेको गुनासो आफूले सुनेको भन्दै अग्रवालले यसका लागि नेपालले यथाशीघ्र अनुमति दिनुपर्ने बताए ।
“अहिले सिधा उडान नहुँदा म्यानमारका बुद्धमार्गीहरु भारत हुँदै एक दिनका लागि मात्र लुम्बिनी आउने गरेका छन् । यसबाट नेपाली पर्यटन व्यवसायले भने लाभ लिन सकेका छैनन्”, उनले भने ।
बैठकमा नेपाल र म्यानमारबीच व्यापारिक साझेदारीका सम्भावनामाथि पनि व्यापक छलफल भएको अग्रवालले जानकारी दिए ।
बैठकमा म्यानमारमा लघुवित्त वित्तीय संस्था सञ्चालन गरिरहेका र सूचना प्रविधि निर्यात गरिरहेका नेपाली व्यवसायीको समेत सहभागिता रहेको थियो ।








प्रतिक्रिया