काठमाडौं । नेपाल राष्ट्र बैंकले आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरेको छ । नेपालको डिजिटल भुक्तानी कारोबार क्षेत्रमा दुई प्रतिस्पर्धीबीच पहिलो पटक एकीकरण हुन लागेको हो।
आइएमई पे र खल्तीको एकीकृत कारोवार पश्चात आधिकारिक रुपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहने छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरी स्थित रहने छ ।
संयुक्त कारोबार पश्चात अधिकारिक रुपमा एपको नाम भने खल्ती रहने छ । ठुलो चुक्ता पुँजी र पचास लाख भन्दा बढी अधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रुपमा स्थापित गरेको छ । साथै भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामिण क्षेत्रसम्म पहुँच बिस्तारमा तिब्रता आउने विश्वास कम्पनीले लिएको छ ।
नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तिन महिना सम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तिब्र रुपमा चल्ने कम्पनीले बताएको छ । यसका लागि दुवै एप ,आइएमई पे र खल्ती यथावत रुपमा संचालनमा रहने छन् । दुबै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू ,खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् । खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पे मा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समाबेश गरिनेछ ।
नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नया फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्ने जनाइएको छ । संयुक्त कारोवार पश्चात एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सवै फिचरहरु त्यहाँ समावेश हुनेछन् । अहिले सम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् ।
आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास लिईएको छ । संयुक्त कारोबार पश्चात यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीको रुपमा रहने कम्पनीको विश्वास रहेको छ ।
डिजिटल भुक्तानी विस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आइएमई पे र खल्ती बीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास रहेको छ । खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नया अनुभव प्रदान गर्नेछ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एप मार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् साथै भबिस्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एप मै हुनेछ ।यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नया र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। साथै दुई ठुला कम्पनीको मर्जरले केन्द्रीय बैंकले लिएको फिनटेक सम्बन्धि पहुँच बिस्तारमा सहयोग पुग्न गई नगद कारोबारमा कमि, विधुतीय कारोबार विस्तार सहरी देखि ग्रामिण भेगसम्म आर्थिक क्रियाकलापहरुमा पारदर्शिता एवम कारोबारमा विद्धि गर्दै सम्पूर्ण सबैमा समय र खर्चको सदुपयोग हुने विश्वास लिएको छ ।










प्रतिक्रिया