काठमाडौं । शिमाड्जु एशिया प्यासिफिक, प्यासिफिक कमर्सियल कम्पनी र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच नेपालमा अनुसन्धान, नवप्रवर्तन र शैक्षिक उत्कृष्टता सुदृढ पार्न सम्झौता सम्पन्न भएको छ ।
काठमाडौँमा आयोजीत एक समारोहकाबीच मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष राजेन्द्र धोज जोशी, शिमाड्जु एशिया प्यासिफिकका कार्यकारी अधिकारी तथा सिनियर महाप्रबन्धक डेभ चुवा र प्यासिफिक कमर्सियल कम्पनीका निर्देशक विजेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा डा. राजेन्द्र धोज जोशीले विश्वविद्यालयको अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
“शिमाड्जु र प्यासिफिक कमर्सियल कम्पनीसँगको यो सहकार्यले नेपालको वैज्ञानिक उन्नतिमा महत्वपूर्ण मोड ल्याउनेछ, जसले विश्वस्तरीय पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्यका ढोका खोल्नेछ।” उनले भने
समारोहमा शिमाड्जुको वल्र्ड ल्याब नेटवर्कको प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । शिमाड्जु एशिया प्यासिफिक र दक्षिण एसियाभरका ३४ सहकार्य प्रयोगशालालाई जोड्ने विश्वव्यापी प्लेटफर्म हो र अब नेपाल ३५औं सदस्यका रूपमा यसमा समावेश भएको छ।
कार्यक्रममा विश्वविद्यालयको दृष्टिकोण र उपलब्धिहरूको बारेमा भिडियो प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।
१५० वर्षभन्दा लामो इतिहास बोकेको शिमाड्जु कर्पोरेसन विश्वकै अग्रणी वैज्ञानिक तथा विश्लेषणात्मक उपकरण निर्माता हो, जसले मानव स्वास्थ्य, खाद्य सुरक्षा र वातावरणीय दिगोपनमा योगदान पुर्याउँदै आएको छ। त्यसैगरी, शिमाड्जुको नेपालका लागि २५ वर्षभन्दा लामो समयदेखि विशेष वितरकको रूपमा रहेको प्यासिफिक कमर्सियल कम्पनीले नेपालमा अत्याधुनिक प्रविधि र समाधान ल्याउँदै आएको छ।
शिमाड्जु एशिया प्यासिफिकका प्रतिनिधि डेभ चुवाले भने “हामी सहकार्यको शक्तिमाथि विश्वास गर्छौं। यस सम्झौता मार्फत नेपाललाई अनुसन्धान क्षमता वृद्धि गर्न र विश्व वैज्ञानिक समुदायसँग जोडिन सहयोग गर्न पाउँदा हामी उत्साहित छौं।”
त्यस्तै, प्यासिफिक कमर्सियल कम्पनीका विजेन्द्र श्रेष्ठले केवल उपकरण आपूर्तिकर्ता मात्र नभएर सम्पूर्ण समाधान प्रदायक बन्न पाउँदा गर्व लागेको बताए ।
“प्यासिफिकको रूपमा हामी केवल उपकरण आपूर्तिकर्ता होइन, एक सम्पूर्ण समाधान प्रदायक बन्न पाउँदा गर्व गर्छौं। यो सहकार्यले नेपाललाई विश्व अनुसन्धान र नवप्रवर्तनको नक्सामा अझ माथि पुर्याउने हाम्रो प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ” उनले भने ।
यस अवसरमा औषधि प्रशासन विभागका प्रमुख नारायण ढकालले शैक्षिक–उद्योग सहकार्यको व्यापक महत्वबारे जोड दिँदै भने
“यस प्रकारको सहकार्यले नेपालको औषधि क्षेत्रको विकासमा टेवा पुर्याउनेछ। औषधि व्यवसायमा दक्ष र जानकार जनशक्ति विकास गर्न शैक्षिक र उद्योगबीचको सहकार्य अत्यावश्यक छ। यस्ता पहलहरूले हाम्रो जनशक्तिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीहरू सामना गर्न तयार पार्छ।”










प्रतिक्रिया