काठमाडौं । नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण बर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
भारी वर्षासँगै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायीहरु मर्कामा परेको चेम्बरले उल्लेख गरेको छ ।
मालसामान लिएर नेपाल तर्फ आउँदै गरेका संयौं कन्टेनर सवारी साधनहरु बाढीले बगाउँदा व्यापार तथा व्यवसायमा गम्भिर क्षति भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत मंगलबार आएको बाढीले मानवीय क्षतिसंगै भौतिक रुपमा पनि ठूलो क्षति गरेको छ । सो क्षेत्रमा हराईरहेकाहरुको खोजीका साथै भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिएर महत्वपूर्ण व्यापारिक मार्ग तत्काल सुचारु गर्न सरकारसंग आग्रह गर्दछौं, ।’
रसुवागढीको टिमुरे क्षेत्रमा तत्कालीन राहत व्यवस्थासँगै दीर्घकालीन संरचना निर्माण, वैकल्पिक पुल निर्माण तथा प्राविधिक पूर्वतयारी गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।
चीनसंगको महत्वपूर्ण व्यापारिक नाका नाका बन्द हुँदा आयात–निर्यातमा ठूलो असर पर्न सक्ने भन्दै चेम्बरले यस्ता जोखिमपूर्ण अवस्थाको दीर्घकालीन समाधानका लागि स्थायी संरचना र वैकल्पिक नाका व्यवस्थापनमा नीतिगत निर्णय गर्न सरकारसंग आग्रह गरेको छ ।










प्रतिक्रिया