काठमाडौं । नेपालले गत आर्थिक वर्ष (२०८१/८२) मा कूल १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।
भन्सार विभागका अनुसार आयात व्यापार १३.२५ प्रतिशतले बढेको छ भने यस अवधिमा निर्यातमा समेत चामत्कारिक वृद्धि हुँदा समग्र वैदेशिक व्यापार नै १९.२४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आव (२०८०/८१)मा नेपालले १५ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ मात्रैको आयात गरेको थियो ।
विभागका अनुसार वार्षिक निर्यात व्यापारमा ८१.८० प्रतिशतले वृद्धि हुँदा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख पुगेको छ । अघिल्लो वर्ष भने निर्यात व्यापार १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपेयाँमा सीमित रहेको थियो ।
नेपालले प्रतिदिन ४ अर्ब ९४ करोड २८ लाख २ हजार रुपैयाँ बराबरको आयात गरेको छ भने प्रतिदिन निर्यात ७५ करोड ८९ लााख ८६ हजार रुपैयाँ रहेको छ ।
यसरी प्रतिदिन व्यापार घाटा ४ अर्ब १८ करोड ३८ लाख १५ हजार रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार आव २०८१/८२ मा नेपालको कूल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँमात्र रहेको थियो ।
प्रतिदिन कूल वैदेशिक व्यापार भने ५ अर्ब ७० करोड १७ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
विभागको तथ्यांकअनुसार कूल व्यापारमा निर्यातको हिस्सा भने गत वर्ष ८.७३ प्रतिशत रहेकोमा हाल १३.३१ प्रतिशत पुगेको छ ।










प्रतिक्रिया