काठमाडौं । नगरकोट क्षेत्रका पाँच ठूला होटलको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एण्ड दी हिमालय’ नामक वृत्तचित्र निर्माण भएको छ । बिहीबार पर्यटन बोर्डमा यसलाई सार्वजनिक गरियो ।
नगरकोटका ठूला होटलहरु क्लब हिमालय, होटल कन्ट्री भिल्ला, होटल मिस्टिक माउन्टेन, काभ्या हिमालयज् र सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एण्ड दी हिमालय’ शीर्षकमा वृत्तचित्र तयार गरिएको हो ।
नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष २०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई यो वृत्तचित्र हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताए ।
जोशीले निजी क्षेत्रको अग्रसरतामा विकास भएको लोकप्रिय पर्यटनस्थल नगरकोटलाई पुनः ब्रान्डिङ गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सीइओ जोशीले नगरकोटमा निजी क्षेत्रले ठूलो लगानी गरेको र सडक सञ्जालमा पनि राम्रो भइसकेको उल्लेख गर्दै नगरकोट जाने पर्यटकहरुलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेसमेत बताए ।
क्लब हिमालयका सञ्चालक वरिष्ठ होटल व्यवसायी योगेन्द्र शाक्यले नगरकोट अब ‘कम्पोरेटिङ मोडल’ अर्थात प्रतिस्पर्धाका साथै सहकार्यमा अगाडि बढिरहेको उल्लेख गर्दै नगरकोटमा पुराना होटलदेखि नयाँसम्म उच्चस्तरीय सुविधासहितको लगानी भइरहेकोले यसलाई नमुना स्वरूप नेपालका अन्य गन्तव्यमा पनि विस्तार गर्न सकिने बताए ।
“नगरकोटलाई अब केवल ‘सनराइज सनसेट’ मात्र नभई यसका अन्य पक्षमा पुनः ब्रान्डिङ गर्नुपर्ने समय आएको छ,” उनले भने ।
नगरकोटको ऐतिहासिक स्थलहरु, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाई समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने तथा भक्तपुर र काभ्रेपलाञ्चोकका चार नगरपालिका मिलेर पहिलोपटक एउटै गन्तव्य प्रवद्र्धन गर्ने यो पहल ऐतिहासिक मान्न सकिने उनको भनाइ छ ।










प्रतिक्रिया