प्रिय सीजी परिवार,
यी केही दिन हाम्रो कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी बनेका छन्। जवानीले जवाफदेहिता र परिवर्तनको माग गर्दै सुरु गरेको शुभ आन्दोलनलाई असामाजिक तत्व र बाहिरी शक्तिहरूले कब्जा गरेर हिंसा, लुटपाट र विनाशमा बदलिदिए। राम्रो नेपालका लागि भएको शान्तिपूर्ण आग्रह दुःखद ढंगले दङ्गा र अशान्तिमा परिणत भयो।
हामीले देख्यौँ—अकल्पनीय निर्दयता। हाम्रो अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरियो, परिवारका घरहरू आक्रमण र आगजनीमा परे, कारखाना र कार्यालयहरू क्षतिग्रस्त भए, शो-रूमहरू लुटिए। दशकौँको मेहनत, त्याग र समर्पण—केही घण्टामै खरानीमा परिणत भयो। यो केवल सम्पत्तिमाथि भएको आक्रमण मात्र होइन, हाम्रो आशा, विश्वास र राष्ट्रका लागि केही अर्थपूर्ण निर्माण गर्ने सपनामाथिको आक्रमण पनि हो।
तर यिनै अन्धकारमय घडीमा सीजीको वास्तविक आत्मा देखियो। आगो र अराजकताको बीचबाट हाम्रो परिवारको साहस चम्कियो। हाम्रा नेताहरू, प्रबन्धकहरू र कर्मचारीहरूले आफ्नै सुरक्षालाई जोखिममा राखेर दिनरात खटेर सकेसम्म जोगाए, सम्पत्ति रक्षा गरे, र सबैभन्दा महत्त्वपूर्ण कुरा—ग्राहकलाई दिएको वाचा निभाइरहे। आगो दन्किँदै थियो, तर हाम्रो आत्मबल दन्किँदै थिएन।
सबै कुरा भत्किँदै गर्दा अडिग भएर उभिनुभएका तपाईँ हरेकलाई—म हृदयदेखि सलाम गर्दछु। तपाईँहरूले देखाउनुभयो कि सीजी केवल कम्पनी होइन, यो त परिवार हो—दृढता, निष्ठा र साहसले गाँसिएको परिवार। तपाईँहरूको कारण, हाम्रो ग्राहक कहिल्यै परित्यक्त भएनन्। तपाईँहरूको कारण, हाम्रो आशा अझै बाँचेको छ। उचित समयमा हामी तपाईँहरूको त्याग, सेवा र बललाई सँगै सम्मान र उत्सव गर्नेछौँ।
हो, हामी घाइते छौँ। हो, हामी हल्लिएका छौँ। तर हामी भाँचिएका छैनौँ। उनीहरूले भवन जलाए तर हाम्रो सपना जलाउन सकेनन्। उनीहरूले शो-रूम लुटे तर हाम्रो मूल्य र विश्वास लुट्न सकेनन्। उनीहरूले हाम्रो बल कमजोर बनाउन खोजे तर हाम्रो परिवारको एकतालाई भंग गर्न सकेनन्।
हामीले सम्झनैपर्छ—हामी को हौँ। चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो करदाता हो, हजारौँलाई रोजगारी दिने संस्थान हो, राष्ट्र निर्माणमा अघिल्लो पंक्तिमा उभिने शक्ति हो। भूकम्प होस्, बाढी होस् वा महामारी—हामी सधैं आफ्ना जनताको लागि अगाडि उभिएका छौँ। त्यो यात्रा रोकिएको छैन। त्यो जिम्मेवारी डगमगाएको छैन। त्यो उद्देश्य हराएको छैन।
हामी पुनर्निर्माण गर्नेछौँ। हामी फेरि उठ्नेछौँ। र हामी अघिल्ला भन्दा अझ बलिया भएर उदाउनेछौँ। यस विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली जनताप्रतिको अझ गहिरो समर्पण जन्मिनेछ।
इतिहासले हामीलाई खप्काउने आगो सम्झने छैन। इतिहासले सम्झनेछ—हामी कसरी त्यो ज्वालाबाट बाहिर निस्कियौँ—अझ गर्विलो, अझ एकताबद्ध, अझ सबल भएर।
प्रिय सीजी परिवारका सदस्यहरू, तपाईँहरूप्रति हृदयदेखि आभार। तपाईँ नै यस संस्थाको मुटु हुनुहुन्छ। हामीसँगै, हामी केवल बाँच्छौँ मात्र होइन—हामी अझ उज्यालो भविष्य निर्माण गर्नेछौँ।
शक्ति, कृतज्ञता र आशासहित,
निर्वाण चौधरी
प्रबन्ध निर्देशक
(चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी आन्दोलनमा आफ्नो घर, कार्यालय तथा फ्याक्ट्रीहरु लुटपाटसँगै जलाइएपछि आफ्ना कर्मचारीलाई लेखेको पत्रको भावानुवाद)










प्रतिक्रिया