काठमाडौं । भदौ २३ र २४ को आन्दोलन तथा विध्वंशपछि राष्ट्रिय राजनीतिको केन्द्रमा आएको जेनेरेसन जेड (जेनजी)ले अन्ततः असूली धन्धा सुरु गरेको छ ।
जेनजीका नाउँमा भोटेकोसी पावर कम्पनीको १० प्रतिशत शेयर हत्याइएको छ । जसमा स्थानीय प्रशासन र जनप्रतिनिधिसमेतलाई साक्षी राखिएको छ ।
भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई १० प्रतिशत सेयर दिने सम्झौता भएसँगै एक महिनादेखि बन्द रहेको सिन्धुपाल्चोकको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।
१० प्रतिशत सेयर दिने सम्झौता, आइतबार भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडबीच सेयर दिने र आयोजना सञ्चालन गर्नेलगायत सम्झौता भएको हो ।
सम्झौतापत्रमा भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फूर्पा शेर्पालगायत प्रतिनिधि र कम्पनीका तर्फबाट कम्पनी सचिव विश्वमोहन कर्माचार्यलगायत सहायक प्रबन्धकले हस्ताक्षर गरेका छन् ।
स्थानीय राजनीतिक दलहरूको रोहबरमा भोटेकोशी कम्पनीले २०७१ पुसमा आयोजना प्रभावितलाई ६ प्रतिशत सेयर दिने सम्झौता गरिएको थियो । अहिले सोही ६ प्रतिशतमा ४ प्रतिशत बढाएर १० प्रतिशत कायम गर्ने सम्झौता गरेको छ ।
’भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो,’ सम्झौता पत्रमा भनिएको छ, ’दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत शेयर साबिक २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो ।’
कम्पनीले यसअघि दिने भनेको ६ मा चार प्रतिशत बढाएर कुल १० प्रतिशत सेयर वितरण गर्ने सहमति गरेको हो । अंकित मूल्य १०० कायम गरी उक्त सेयर स्थानीय जनतालाई निष्कासन गर्ने तयारी सुरु भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, कम्पनीले भोटेकोसी गाउँपालिकालाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड ५० लाख रकम सामाजिक उत्तरदायित्वको रूपमा जम्मा गर्ने सहमति भएको छ । उक्त रकम आयोजना प्रभावित स्थानीय जनताको हितका लागि खर्च गरिने जनाइएको छ ।
सहमति पत्रमा उल्लेख छ, “आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाको सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न कम्पनीले भोटेकोसी गाउँपालिकामा दुई करोड ५० लाख रकम जम्मा गर्नेछ ।”
यसका साथै कम्पनीले भविष्यमा आउने सम्भावित समस्याहरू समाधान गर्न र आयोजना क्षेत्रका कर्मचारीहरूको सुरक्षा तथा शान्तिपूर्ण सञ्चालनका लागि पनि सहकार्य गर्ने सहमति भएको छ । सहमतिपश्चात् आयोजनाको विद्युत् उत्पादन सुरु भएको छ । स्थानीयले १० प्रतिशत सेयरमा गर्दै भदौ २५ गतेदेखि आयोजनाको उत्पादन रोकेका थिए ।










प्रतिक्रिया