Logo

अर्थनीति

ओलीका सपना अब मोदीले पूरा गर्ने


appharu
   २५ चैत्र २०७४, आइतबार


जीडीपी नेपाल
काठमाडौं, २५ चैत
नेपालमा रेल गुडाउने र समुद्रमा नेपाली झन्डा अंकित पानी जहाज पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीका पुरानै सपना हुन् । अघिल्लोपटक प्रधानमन्त्री हुँदा बारम्बार यही कुरा दोहोर्याउँदा धेरैले खिल्ली उडाएपछि पनि ओली आफ्ना कुराबाट रत्तिभर बिचलित भएनन् । वाम गठबन्धनको घोषणापत्रमा होस् वा फेरि प्रधानमन्त्री भएपछि नै किन नहोस् ओलीले रेल र पानी जहाजका सपना बाँड्न छाडेनन् ।
ओलीका रेल र पानीजहाजका सपनालाई नजिकबाट नियालीरहेको भारतले अन्ततः उनको सपना पूरा गरिदिने भएको छ । नेपाल र भारतबीच भारतको रक्सोलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने, जलमार्गबाट दुवै देशलाई जोड्ने तथा कृषि क्षेत्रमा सहकार्य गर्ने सहमति भएसँगै ओलीका सपना भारतले पूरा गरिदिने संकेत देखिएका हुन्।
कुनै पनि नयाँ सम्झौता नगर्ने र पुरानै सम्झौता कार्यान्वयनमा जोड दिने एवं मित्रता प्रगाढ बनाउने भन्दै शुक्रबार भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले यी नयाँ क्षेत्रमा सहयोगको हात अघि बढाएका हुन् । शनिबार नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनपछि जारी गरिएको विज्ञप्ति अन्ुसार भारतले रक्सोलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माणमा सहयोग गर्ने सहमति भएको छ ।
नेपाल र भारतले जारी गरेका १२ बुँदे संयुक्त वक्तव्यमा समेटिएका तीन नयाँ समझदारीमा रेलमार्गबाहेक कृषि क्षेत्रमा सहकार्य गर्ने र जलमार्गबाट नेपाललाई समुद्रसँग जोड्ने विषय पनि उल्लेख गरिएको छ ।
कृषिसम्बन्धी समझदारीअनुसार नेपाल र भारतले संयुक्त रूपमा कृषि क्षेत्रको विकासमा काम गर्ने जनाइएको छ । जसअनुसार दुवै देशले माटोको स्वास्थ्य, नयाँ बीउबिजन उत्पादन, अग्र्यानिक फार्मिङ, पशुपालन, कृषि अनुसन्धान एवं कृषि शिक्षामा सहकार्य गर्नेछन् ।
यस्तै, भारतीय प्रधानमन्त्री मोदीे प्रधानमन्त्री ओलीको नेपालमा पानीजहाज चलाउने तथा रेल गुडाउने दुवै सपना पूरा गर्न पनि तयार भएका छन् । १२ बुँदे संयुक्त वक्तव्यको ९औं बुँदाअन्तर्गतको तेस्रो बुँदामा समेटिएको जलमार्गको विकासबारे अलग्गै जारी २ बुँदे समझदारीअनुसार नेपालले अब कार्गोहरूको ढुवानी जलमार्गमार्फत् गर्न पाउने छ । ‘
व्यापार तथा पारवहन सम्झौताअन्तर्गत रहेर जलमार्ग मार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुन्द्रसम्मको थप पहुँच दिन दुवै देशका प्रधानमन्त्री सहमत भएका छन्,’ उक्त समझदारीमा लेखिएको छ । यस्तै, व्यापार तथा पारवाहन सम्झौतामा जलमार्गसम्वन्धी व्यवस्था समेट्न संशोधनका लागि दुई देशबीच आवश्यक गृहकार्य गर्ने पनि समझदारीमा उल्लेख छ ।
संयुक्त पत्रकार सम्मेलनमा नेपाली तथा हिन्दी मिसाउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रसँग सिधै जोडिने भएकाले नेपाल अब भूपरिवेष्ठित राष्ट्र नरहेको बताए । नेपालको सम्पर्क सिधै समुन्द्रसँग हुने भन्दै उनले सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिने जनाए । “जलमार्ग प्रयोगमा आएपछि नेपाल ल्यान्डलक होइन, वाटरलिंक राष्ट्र हुनेछ,” उनले भने ।
यसैगरी, मोदीले कनेक्टिभिटीको एक आयाम व्यापार र मानिसहरूको आवागमनको इन्फ्रास्क्ट्रचरसँग जोडिएको हुन्छ भन्दै वीरगञ्जको रक्सोल एकीकृत चेकपोष्टको संयुक्तरूपमा उदघाटन गरिएको पनि जानकारी दिए । “यो आइसीपी भारत र नेपालको सदियौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेछ,” उनले भने ।
मोदीले भारतको ‘सबैको साथ सबैको विकास’ नीतिअनुसार भारतले छिमेकीहरूलाई सहयोग गर्ने बताएका थिए । साथै, मोदीले केपी ओली र आफ्नो विकास अभियानसम्बन्धी भिजन एकै प्रकारको रहेको बताउन पनि भ्याए । उक्त अवसरमा भारतको सुरक्षा चासोलाई सम्बोधन गर्दै ओलीले सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका सवालमा नेपाल गम्भीर रहेको भन्दै सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि दुवै देश मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
मोदीले पनि आफनो सम्बोधनमा सदाझैं भारत र नेपालबीच रक्षा र सुरक्षाका चासो राख्दै दुबै देश आफ्ना खुल्ला सीमाको दुरूपयोगलाई रोक्ने र साझा सुरक्षा हितहरूलाई अगाडि बढाउनेबारे सहमत रहेको जनाएका थिए ।
भारतले नयाँ नयाँ सहमति गर्ने तर कार्यान्वयमा चासो नदिने आरोप लागिरहेकोले यसअघि नेपालमा निर्माण गर्ने सहमति भएका पञ्चेश्वरलगायतका आयोजनाहरूलाई गति दिने पनि १२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख छ ।

प्रकाशित : २५ चैत्र २०७४, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह