काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघमा उनको कार्यकालभरी कोभिड–१९ को असर शून्य हुनेगरी निजी क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
कांग्रेस संसदीय दलले आयोजना गरेको पूर्वबजेट अन्तरक्रियामा रिजालले भने– महासंघमा तपाइँ अध्यक्ष हुँदै हुनुहुन्छ, तपाइँको कार्यकालभित्रै कोभिडले पारेको असर शून्य हुनेगरी कार्यक्रम अघि बढाउनुपर्छ, हामी सहयोग गर्न तयार छौं ।
कोरोनाभाइरसका कारण रोकिएको महासंघको अधिवेशनका कारण गोल्छाले महासंघ नेतृत्वको जिम्मेवारी सम्हाल्न सकेका छैनन् । गोल्छालाई शुभकामना दिँदै डा. रिजालले सरकारको नीति तथा निजी क्षेत्रकै माध्यमबाट कोरोनाको प्रभाव न्यूनीकरण हुने बताए ।
यसअघि गोल्छाले महासंघद्वार सरकारलाई बुझाइएको सुझावका महत्वपूर्ण बुँदा पढेर सुनाएका थिए ।
छलफलमा कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, वालकृष्ण खाँड, राधेश्याम अधिकारी सहभागी थिए ।
यस्तै, निजी क्षेत्रबाट महासंघ अध्यक्ष भवानी राणा, उद्योग परिसंघ अध्यक्ष सतिशकुमार मोर, चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायत व्यवसायी सहभागी थिए ।
प्रतिक्रिया