काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कुनै पनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने चेतावनी दिएका छन् ।
सिंहदरवारमा सञ्चारकर्मीहरुमार्फत मन्त्री भट्टराईले यस्तो सन्देश दिइरहँदा गैह्रीधारास्थित होटल संघ नेपाल (हान) सचिवालयमा भने साढे १२ प्रतिशत तलबमा सहमत नहुने मजदुरलाई अवकास दिने चेतावनीसहितको विज्ञप्ति ड्राफ्ट हुँदै थियो ।
हान अध्यक्ष सृजना राणा र महासचिव साजन शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ– उपयुक्त विकल्प आउन नसके ६ महिनामा परिस्थितिको समीक्षा गर्ने गरीे व्यवसाय बन्द गर्ने र व्यवसायीहरूले बाध्य भएर श्रम ऐन २०७४ बमोजिमको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्नेसम्मको निर्णयमा पुग्नुपर्ने अवस्था आउनेछ ।
हानले गत आइतबार गरेको निर्णय सार्वजनिक गर्दै बिहीबार कर्मचारीहरुको आधारभूत तलवमानको १२.५ प्रतिशतले हुनआउने रकम र प्रतिष्ठानमा विगतमा मौज्दात रहेको सेवा शुल्कवापतको प्राप्त गर्ने रकमसमेत थप गरी प्रतिष्ठानले ६ महिनासम्म दिने र अपुग रकम संघले माग गरे अनुसारको रोजगारी संरक्षण कोष स्थापना गरी सरकारको तर्फबाट कार्यरत श्रमिकहरुको लागिउपलब्ध गराई तत्काल सम्बोधन गर्नुपर्ने माग गरेको छ ।
तर मन्त्री भट्टराईले भने कसैले पनि श्रमिकलाई कामबाट हटाउन नपाउने बताएका छन् । कुनै पनि व्यवसायीहरुले श्रमिकहरुलाई कामबाट निकाल्न (बेदखल) गर्न नपाउने उल्लेख गर्दै उनले भने, ‘श्रमिकहरुको हकमा हामीले भनेका छौं, कुनै पनि व्यवसायीले श्रमिकहरुलाई अहिले बेदखल गर्न पाइँदैन । किनभने उहाँहरुको सामाजिक सुरक्षा कोष पनि छ साथै होटल र अन्य कतिपय व्यवसायबाट प्राप्त गर्नुपर्ने विशेष सुविधाहरु पनि छन् ।’
त्यस्तै सरकारले पनि त्यसमा श्रमिकहरुलाई सहयोग गर्ने बताए । उनले कोरोना भाइरसबाट परेको प्रभावलाई कम गर्नका लागि व्यवसायीहरु र श्रमिकहरुको हितमा केही पुनस्स्थापना प्याकेजहरु अगाडि सार्ने सोचका साथ मन्त्रालय अगाडि बढेको बताए ।
प्रतिक्रिया