काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा परिवर्तन गरेको छ ।
केन्द्रीय बैंकका अनुसार महिनामा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा चाँदी आयातको सीमा अमेरिकी डलर २० लाख उद्योगको लागि निर्धारण गरिएको छ ।
यस्तै, अन्य व्यवसायीको लागि अमेरिकी डलर चार लाखको सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिने उल्लेख छ ।
सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुंडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्न पाउँछन् ।
यसका निमित्त प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था भने यथावत राखिएको छ ।
अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने उल्लेख छ ।
उद्योगले प्रतिमहिना २० लाख डलरसम्मको चाँदी आयात गर्नसक्ने, व्यक्तिको हकमा ४ लाख डलरको सुविधा भने थप गरिएको हो ।
चाँदीको गरगहना तथा कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश दिन सकिने उल्लेख छ ।
कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिने तथा सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने उल्लेख छ ।
सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नु पर्ने जनाइएको छ ।
सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चादी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनु पर्ने उल्लेख छ ।










प्रतिक्रिया