काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक निर्वाचनका लागि भएको प्राइमरी इलेक्सनमा खासआर्य महिलातर्फ सबैभन्दा बढी भोट पाएकी युवा नेतृ रञ्जु दर्शनाको सांसद बन्ने बाटो अन्ततः बन्द भएको छ ।
रास्वपाले निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीमा रञ्जुको नाम खसआर्य महिलातर्फ दशौं नम्बरमा छ । यो नम्बरमा रहेकाको सांसद बन्ने सम्भावना शून्यप्रायः देखिन्छ ।
रञ्जुभन्दा कम मत पाएका तत्कालीन रास्वपा नेतृहरु तथा बालेन शाह र कुलमान घिसिङका तर्फबाट थपिएका महिला उम्मेदवारभन्दा उनलाई पुछारमा राखिनुको कारण भने बालेन शाहको इगो रहेको बुझिएको छ ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा रञ्जुले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई समर्थन गरेको भन्दै बालेन रञ्जुसँग रुष्ट रहेछन् ।
रास्वपा निकट स्रोतका अनुसार रञ्जुको नाम समानुपातिक सूचीमा समावेश नै नगर्न बालेन निकट व्यक्तिहरुबाट दबाब परेको थियो । तर, निर्वाचनमा लोकप्रिय मत पाएकी र भर्खरै विवेकशीलबाट निशर्त समाहित भएकी रञ्जुलाई उम्मेदवार नै नबनाउँदा गलत सन्देश जाने भन्दै रास्वपा पक्षधरले सूचीमा भने राखेको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदको उम्मेदवार बनेकी रञ्जुले २०७९ मा निर्वाचनको ठिक एक दिनअघि मेयरकी प्रत्याशी सिर्जना सिंहलाई भेटेकी थिइन् ।
तत्कालिन विवेकशील नेपाली दलकी दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा २३ हजार चार सय ३९ मतका साथ तेस्रो स्थानमा आएकी थिइन् ।
मेयरकी उम्मेदवार सिंहलाई भेटेर दर्शनाले आफ्नो समर्थन रहेको बताएकी भन्दै प्रचार गरिए पनि त्यसको पुष्टि भने भएको छैन ।
तर, बालेन पक्षले भने सोही तस्बिरकै आधारमा रञ्जुमाथि पूर्वाग्रह साँधेको रास्वपाभित्र चर्चा छ ।










प्रतिक्रिया