Logo

मुख्य समाचार

एफएनसीसीआईका १८ वटा वस्तुगत सदस्यको सदस्यता खारेज गर्न अदालतको आदेश


GDP नेपाल
   १८ पुस २०८२, शुक्रबार


काठमाडौँ । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघका १८ वटा वस्तुगत सदस्यको सदस्यता खारेज गर्न आदेश दिएको छ । मापदण्ड विपरित सदस्यता प्रदान गरिएको भन्दै दायर भएको रिटमा फैसला गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र गोपाल प्रसाद बाँस्तोलाको संयुक्त इजलासले १८ वटा वस्तुगत सदस्यहरुको सदस्यता खारेज गरिदिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश द्वय चन्द्रबहादुर सारु र गोपाल प्रसाद बाँस्तोलाको संयुक्त इजलासले पौष १६ गते १८ वटा वस्तुगत संघहरुको सदस्यता खारेज गरिदिएको हो । यसमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ, ऊर्जा उत्पादक संगठन नेपाल, नेपाल वितरक संघ लगायतका सदस्यहरु रहेका छन् ।

महासंघले सदस्यता समितिको सिफारिस र विधान विपरित १८ वटा संघहरुलाई सदस्यता प्रदान गरेको भन्दै नेपाल पोल एसोसियशनका अध्यक्ष किशोर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरेका थिए । २०८१ साल फागुन २३ गते महासंघको सदस्यता समितिको बैठक बसेर वस्तुगत सदस्यता प्राप्तीका लागि १९ वटा निवेदन आएको र त्यसमध्ये ‘फोरम हेल्थ एण्ड टेक्निकल साइन्स’ मात्रै योग्य रहेको भन्दै उसलाई सदस्यता दिनका लागि महासंघको कार्यकारिणी समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, फागुन २३ को सदस्यता समितिको सिफारिस विपरित फागुन २६ गते कार्यकारिणी समितिले निवेदन दिएका सबैलाई वस्तुगत सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि महासंघ, महासंघका अध्यक्ष चन्द्र ढकाल, कार्यकारिणी समिति र सदस्यता समिति समेतलाई विपक्षी बनाएर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरेका थिए । २०८१ साल चैत ११ गते दायर रिटमा अदालतले चैत १२ गते नै कारण देखाउ आदेश जारी गर्दै दूबै पक्षलाई छलफलमा बोलाएको थियो ।

यसपछि विभिन्न मितिमा १६ पटक पेशी तोकियो । पौष १६ गते तोकिएको १७औँ पटकको पेशीमा भने अदालतले अन्तिम फैसला गर्दै निवेदकको माग बमोजिम अदालतले १८ वटा संघहरुको वस्तुगत सदस्यता खारेज गरिदिएको हो । यस फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।

‘सदस्यता समितिको सिफारिस र विधान विपरित सदस्यता प्रदान गरिएपछि बाध्य भएर अदालत गएका थियौँ, अदालतले फैसला दियो’ रिट निवेदक प्रधानले बिजनेश पानासँग भने, ‘विधान मिचेर सदस्यता दिने काम भएपछि हामी अदालत जान बाध्य भएका हौँ ।’

यी हुन् खारेजीमा परेका वस्तुगत सदस्य: 

१. एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्यिट्सन अफ नेपाल, सातदोबाटो ललितपुर
२. नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नयाँ बानेश्वर काठमाडौं
३. नेपाल यर्सागुम्बा संघ, सुकेधारा काठमाडौं
४. एएसी ब्रिक उत्पादक संघ, टेकु काठमाडौं
५. नेपाल कागज उत्पादक संघ, काठमाडौं वडा नं. १४
६. उर्जा उत्पादक संगठन, नेपाल काठमाडौं वडा नं. २९
७. नेपाल किवी उत्पादक तथा व्यवसायी संघ, विर्तामोड झापा
८. नेपाल वेसार संघ, गोकर्णेश्वर काठमाडौं
९. नेपाल कोदो तथा फापर संघ, काठमाडौं वडा नं. ३२
१०. नेपाल छुर्पी व्यवसायी संघ धुलाबारी मेची
११. नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ बिर्तामोड झापा
१२. नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ, हात्तिसार काठमाडौं
१३. नेपाल पुस्तक तथा तथा स्टेसनरी व्यवसायी महासंघ, सातदोबाटो ललितपुर
१४. नेपाल सुन्तला एंव कागती संघ, बुढानिलकन्ठ काठमाडौं
१५. प्लाष्ट नेपाल फाउण्डेशन टेकु काठमाडौं
१६. नेपाल सिङगिंङ बाउल संघ, ठमेल काठमाडौं
१७. नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ, ललितपुर
१८. नेपाल वितरक महासंघ, कोटेश्वर काठमाडौं

प्रकाशित : १८ पुस २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह