Logo

अर्थनीति

नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने


gdpnepal
   १ माघ २०८२, बुधबार


काठमाडौं । नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने भएको छ ।

कोषको ३१ औँ वार्षिक साधारण सभामामा बोल्दै अध्यक्ष तुलसीप्रसाद घिमिरेले आगामी दिनमा कोषका कार्यक्रमलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनका अनुसार सह–कार्यालय रहेको स्थानमा कोषको आफ्नै कार्यालय भवन निर्माणका लागि उपयुक्त जग्गा खरिद गर्न बजेटको व्यवस्था गरिएको छ । आर्थिक वर्ष (आव) २०८०–८१ मा कोषले आर्जित मुनाफाबाट नेपाल सरकारलाई राजस्वबापत ४० करोड ५१ लाख रुपैयाँ योगदान गरेकोमा आव २०८१–८२ मा ४४ करोड ३१ लाख रुपैयाँ योगदान गरिएको छ ।

अध्यक्ष घिमिरेले स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनाको प्रवद्र्धन गरिने जानकारी दिए ।

उनका अनुसार योजनाप्रति सर्वसाधारणको आकर्षण भए पनि अपेक्षित रूपमा सहभागिता बढ्न नसकेको भन्दै आगामी दिनमा संघसंस्था तथा स्थानीय निकायसँग समन्वय गरी साक्षरता, अन्तक्र्रिया र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

‘कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्धन गर्दै लैजाने योजना रहेको छ । आजसम्म यस योजनाप्रति सर्वसाधारणको आकर्षण राम्रो देखिए तापनि विविध कारणवश प्रवद्र्धनात्मक कार्यहरू यथेष्ट मात्रामा हुन नसकेको र सहभागीहरूको संख्या अपेक्षित रूपमा वृद्धि हुन सकिरहेको छैन,’ उनले भने ।

कोषका सहभागीलाई थप सुविधा दिन दुर्घटना बीमा, कर्जा तथा सापटी, स्वास्थ्य तथा मातृत्व सुरक्षा जस्ता कार्यक्रम विस्तार गरिने अध्यक्ष घिमिरेको भनाइ छ । साथै, कोषका कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसार गरी अझ गतिशील बनाइनेछ ।

लगानीतर्फ, कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजना, उत्पादनमूलक क्षेत्र, सहुलियतपूर्ण कर्जा, शेयर धितो कर्जा, सह–वित्तीयकरण, विशिष्टीकृत लगानी कोष, प्राइभेट इक्विटी फण्ड तथा उपयुक्त संस्थाको इक्विटीमा लगानी गर्दै लगानीको दायरा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। यसका लागि नीतिगत सुधार गर्दै नागरिक लगानी कोष ऐन संशोधन प्रस्ताव सरकारसमक्ष पेश गरिएको जानकारी पनि दिए ।

पुँजी बजारमा देखिने उतार–चढाव न्यूनीकरण गर्न कोषले सहायक कम्पनीमार्फत भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै बन्दमुखी सामूहिक कोष सञ्चालनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिए । उनले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दे लाने प्रतिबद्धता व्यक्त गरे ।

कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधि भित्रै साधारणसभा गर्न सफल भएको उनको भनाइ छ । अबको युग डिजिटल युग भएकाले कोषले पनि सोही अनुसार कार्य गरिरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक कार्कीले हाल अधिक तरलताको कारण कोषको मौज्दात रकमलाई पूर्ण रुपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको धारणा राखे ।

कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवम् उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले बताए ।

साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचित भए ।

कार्यदक्षता अभिवृद्धिका लागि कर्मचारीलाई स्वदेश तथा विदेशमा तालिम दिइने र नयाँ संगठन संरचना स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको पनि उनले जानकारी दिए ।

 

प्रकाशित : १ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह