Logo

अर्थनीति

उद्योग व्यवसायलाई ‘शान्ति क्षेत्र’ घोषणा गर्न महासंघको माग, सशस्त्र प्रहरीको क्यूआरटी राख्न सुझाव


gdpnepal
   १८ माघ २०८२, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग तथा व्यावसायिक प्रतिष्ठान एवम् व्यवसायीको निजी सम्पत्तिको सुरक्षाका लागि प्रत्याभूतिको माग गरेको छ ।

फागुन २१ मा हुने निर्वाचनका लागि राजनीतिक दलका घोषणापत्रमा समावेश गरिनुपर्ने विषयमा १४ बुँदे सुझाव प्रस्तुत गर्दै महासंघले उद्योग व्यवसायलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेको हो ।

“केही समय पहिले शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेजस्तै उद्योग व्यवसायलाई पनि शान्ति क्षेत्र घोषणा गरिनु आवश्यक छ,” महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले शनिबार आयोजित कार्यक्रममा भने, “उद्योग व्यवसायले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान र यस क्षेत्रको आवश्यकता तथा महत्वलाई सम्मान गर्दै शान्ति क्षेत्र घोषणा गरिनु आवश्यक छ ।”

औद्योगिक तथा व्यावसायिक क्षेत्रमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बल अन्तर्गत केन्द्रमा औद्योगिक तथा व्यावसायिक सुरक्षा निर्देशनालय र प्रत्येक जिल्लामा रहेका गणमा नै सोको एकाइ स्थापना गर्न सकिने सुझावमा उल्लेख छ ।

यस्तै, उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई विशेष महत्वको क्षेत्र वा शान्ति क्षेत्रका रुपमा घोषणा गरी उद्योग वा प्रतिष्ठानमा कुनै प्रकारको हिँसात्मक र अराजक गतिविधि गर्न नपाउने कानूनी व्यवस्था हुनुपर्ने उल्लेख छ ।

“उद्योग तथा व्यवसायमा गरिएको लगानीको परिमाण, उक्त उद्योग वा व्यवसायले उपलब्ध गराएको रोजगारी, आर्थिक अवसरको क्षेत्रमा पु¥याएको योगदान, आपूर्ति श्रृङ्खलाको निरन्तरताका लागि गरेका कार्य तथा राजस्वमा गरेको योगदानका आधारमा वर्गीकरण गर्न सकिन्छ,” अध्यक्ष ढकालले भने, “उद्योग प्रतिष्ठान वा व्यावसायिक भवनलाई अति संवेदनशील कोटीमा राखी सोही स्तरको सुरक्षा प्रदान गर्नुपर्ने हाम्रो सुझाव रहेको छ ।”

सुरक्षाका लागि तत्काल परिचालन गर्न सकिने गरी आवश्यक उपकरण सहितको द्रुत परिचालन टोली र सोको लागि सवारी साधनको प्रवन्ध गर्नुपर्ने जनाइएको छ ।

यस्तै, उद्योग तथा व्यावसायिक प्रतिष्ठान एवम् निजी सम्पत्ति र आवासमा हुने आक्रमण, तोडफोड तथा आगजनी उपर शुन्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा महासंघको जोड छ ।

 

प्रकाशित : १८ माघ २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह