काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।
पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा पुस मसान्तमा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा पुस मसान्तमा ३६.२ प्रतिशतले वद्धि भई ३ खर्ब ५८ अर्ब ३७ करोड कायम भएको छ ।
पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।










प्रतिक्रिया