काठमाडौं । चौधरी फाउण्डेसनले प्रसुती सेवा केन्द्रहरुका लागि स्वास्थ्यसम्बन्धी विविध उपकरणहरु वितरण गरेको छ । शुक्रबार फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले ति सामग्री सुरक्षित मातृत्व संजाल महासंघका महासचिव रवीन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरे ।
कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पिपिई, ७५०० थान मास्क, ६००० थान ग्लोब्स, ३० थान थर्मल गन, १६० लिटर सेनिटाइजर, १६८० थान सेनिटरी प्याड, ६०० थान हात धुने साबुनलगायतका सामाग्री वितरण गरिएको हो । महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारको रक्षाका लागि विविध कार्यहरु गर्दै आएको सुरक्षित मातृत्व संजाल महासंघले उक्त सामग्री प्रदेश २ का विभिन्न ३० प्रसुती गृहहरुमा वितरण गर्नेछ ।
नेपाल दक्षिण एशियामा नै उच्च मातृ र शिशु मृत्युदर भएको मुलुकअन्तर्गत पर्दछ । सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा प्रति एक लाखमा २३९ मातृ मृत्युदर छ । स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउन पुगेको समाचार हालै सार्वजनिक भएका छन् ।
अझ २ नम्बर प्रदेशमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजात शिशुको स्वास्थ्य यस क्षेत्रमा अझ बढी जोखिममा रहेको छ । यस्तोमा उक्त प्रदेशमा सुरक्षित प्रसुती सेवा प्रवाह गर्न अग्र पंक्तिमा रही कार्यरत स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्रीकै अभावमा उपचार नपाएर गर्भवती, सुत्केरी तथानवजातशिशु कसैले अकालमै ज्यान गुमाउन नपरोस भनि उक्त सामाग्रीहरु सहयोग गरेको फाउण्डेसनले जनाएको छ ।
यसअघि चौधरी फाउण्डेसनले मुलुकभरिका विभिन्न ११९ स्वास्थ्य केन्द्रहरुमा मेडिकल उपकरण वितरण गरिसकेको छ ।
प्रतिक्रिया