Logo

कर्पोरेट-बजार

एफएनसीसीआईको एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिँदै भिजनरी उद्यमी प्रवलजंग पाण्डे


GDP नेपाल
   १ चैत्र २०८२, आइतबार


काठमाडौं । प्रवलजंग पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । चैत २८ र २९ गते हुने महासंघको ६० औं वार्षिक साधारणसभामा आगामी नेतृत्वको लागि चुनाव हुँदैछ ।


पाण्डे व्यावसायिक वृत्तमा स्पष्ट दृष्टिकोण भएका उद्यमी मानिन्छन् । मुलुकको व्यावसायिक क्षेत्रले उनलाई निजीक्षेत्रका समस्यालाई गहिरोसँग बुझेको र निकै अध्ययनशील व्यक्तिको रूपमा चिन्छ । नजिकबाट चिन्नेहरू पाण्डेलाई समन्वयकारी भूमिकामा विशेष दखल राख्ने र टिमवर्कमा विश्वास गर्ने व्यक्ति मान्छन् ।

व्यावसायिक अनुभव, नीतिनियमको ज्ञान र सरकारी तहसँग समन्वय गरेर काम गर्न सक्ने क्षमताका कारण पाण्डेले महासंघमा महत्वपूर्ण भूमिका खेल्न सक्नेमा उनीहरू विश्वस्त छन् । पाण्डेको एसोसिएट क्षेत्रसँग बलियो सम्बन्ध छ । उनले बदलिँदो राजनीतिक-आर्थिक परिवेश र जेनजी आन्दोलनपछि सुस्त बनेको अर्थतन्त्रलाई गति दिन दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता देखेका छन् ।

मुलुकको उद्योग, व्यवसाय, राजस्व र रोजगारीको क्षेत्रमा सकारात्मक नतिजा ल्याउन दर्जनभन्दा बढी क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता पाण्डे औंल्याउँछन् ।

‘यसका लागि दोस्रो चरणको आर्थिक सुधार अघि बढाउनुपर्छ,’ पाण्डेले भने।

उनका अनुसार नीतिगत स्थिरता व्यवसायमैत्री वातावरणको अनिवार्य शर्त हो । कर प्रणालीलाई वैज्ञानिक बनाउन र चुहावट रोक्न बहुदरको मूल्य अभिवृद्धिकर (भ्याट) मा जानुपर्ने उनी बताउँछन् ।

‘आयकरका दर कटौती र व्यावसायको लागत कम गर्ने उपायको खोजी पनि उत्तिकै महत्वपूर्ण छ,’ पाण्डे भन्छन्, ‘उद्योगको उत्पादन लागत घटाउन सहुलियत दरमा बिजुली, हवाई टिकटमा लगाइएको भ्याट खारेजी, मुद्रास्फीतिको आधारमा निजी क्षेत्र र श्रमिकको सहकार्यमा न्यूनतम तलब निर्धारण र भूतप्रवाही कर नलगाउने प्रतिबद्धताको लागि पनि महासंघ जस्ता निजी क्षेत्रका संस्थाको नेतृत्वबाट सशक्त पहल आवश्यक छ ।’

कृषि उत्पादन वृद्धिका साथै नेपालका पर्यटकीय क्षेत्रको बजारीकरण, बिचौलियाको अन्त्य, आयात प्रतिस्थापन गर्ने उद्योग स्थापना, बिजुलीको प्रसारण लाइन निर्माण र व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि सशक्त भूमिका खेल्ने उनले बताए ।

झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बन्न लागेको अहिलेको अवस्थामा ‘पोलिसी डिपार्चर’का लागि निजीक्षेत्रले स्पष्ट दृष्टिकोणका साथ सशक्त पैरवी गर्नुपर्ने र यसका लागि महासंघ जस्ता संस्थामा भिजनरी नेतृत्व आवश्यक पर्ने उनी बताउँछन् ।

व्यवसायमा प्रवेश गर्नुअघि नेपाल टेलिकममा इन्जिनियर रहेका प्रवल आफ्नो व्यवसायमा मात्र केन्द्रित नरहेर अर्थतन्त्रमा प्रभाव पार्ने घटना परिघटना, नीति-नियम, सोच र व्यवहारप्रति पनि गहिरो चासो राख्छन् । र, त्यसमा निरन्तर खबरदारी गरिरहेका हुन्छन् । सिमेन्ट उद्योग, औषधि उद्योग, बैंक, वित्त र इन्स्योरेन्सलगायत क्षेत्रमा उनको लगानी छ । प्रवल कसमस सिमेन्ट र इस्टर्न कसमस सिमेन्टमा निर्देशक छन् । देशकै पुरानोमध्येको एक औषधि उद्योग-लोमस फर्मास्युटिकल्स पाण्डेकै परिवारको लगानी रहेको उद्योग हो । उनी निजीक्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आबद्ध छन् ।

पाण्डे सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष समेत हुन्। उनी पछिल्ला तीन कार्यकाल महासंघमा कार्यकारी सदस्यको रूपमा छन् । प्रवल अध्यक्षको रुपमा महासंघको नेतृत्व गरिसकेका प्रदीपजंग पाण्डेका छोरा हुन् ।

प्रकाशित : १ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह