काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेर नै ठाकुरलाई समर्थन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित प्रायः भएको हो ।
श्रम संस्कृतिबाट सांसद आरेन राई प्रस्तावक र रास्वपा सांसद अशोककुमार चौधरी समर्थक रहेर उपसभामुख पदमा ठाकुरको उम्मेदवारी परेको छ।
प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन् । तर, उनी निर्वाचित हुनसक्ने अवस्था भने छैन ।
यद्यपि, उदीयमान पार्टी श्रम संस्कृतिका सांसद संख्या न्यून रहेको अवस्थामा एक सांसदलाई उपसभामुखको भूमिकामा लैजाँदा पार्टीको संसदमा प्रस्तुती भने कमजोर बन्ने देखिन्छ ।
उपसभामुखले प्रतिनिधिसभामा बोल्ने प्रचलन छैन भने उनको भूमिका पनि सत्तापक्षका रुपमा रहन्छ । संवैधानिक परिषदको सदस्य भएर संवैधानिक नियुक्तिमा पार्टीको तर्फबाट धारणा राख्ने र पार्टीसम्म सूचना पुर्याउन सहज नै भए पनि संसद चलाउनेबाहेक उनको अरु भूमिका हुने छैन ।
सरकारलाई खबरदारी गर्नुपर्ने जिम्मेवार प्रतिपक्षी दलका सांसद यसरी उपसभामुख पदमा लोभिँदा श्रम संस्कृति पार्टीको संसदीय भूमिका नै कमजोर बन्ने देखिएको जानकारहरु बताउँछन् ।










प्रतिक्रिया