काठमाडौं । सरकारी अधिकारीहरुले काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहे पनि अझै समूदाय स्तरमा नफैलिएको तर जोखिम भने उच्च रहेको बताएका छन् ।
काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना भाइरस संक्रमण भएको हो । यसअघि सोमबार ५४ र आइतबार ३० जनामा संक्रमण भएको थियो ।
काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २६६ पुगेको छ । जसअनुसार काठमाडौंमा १७४, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले यस क्षेत्रमा तीन वर्गका संक्रमित फेला परेको जनाएका छन् । काठमाडौंमा ट्राभल हिस्ट्री नभएकोमा पनि संक्रमण भेटिएको छ तर समुदायमा गएर परीक्षण गर्दा ती व्यक्तिको सम्पर्कमा आएकाहरूमा पनि संक्रमण भेटिएको छैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कतिपयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोनाभाइरस फैलिएको भन्ने गरेको भए पनि त्यस्तो अवस्था आइनसकेको बताएका छन् । तर, उनका अनुसार त्यो स्थिति आउन सक्ने भएकाले सतर्क हुनुपर्छ ।
अधिकारीहरुका अनुसार अहिले स्थानीय स्तरमा संक्रमण देखिएको छ । सामुदायिक तहमा प्रवेश गरिसकेको जस्तो भने देखिँदैन । तर एक न एक दिन त समुदायमा जाने भएकाले सतर्कता अपनाउनुपर्छ ।
प्रतिक्रिया