Logo

Banner-news

पर्यटनमन्त्री अनियमिततामा मुछिएपछि उद्धार उडान नै रोकियो


GDP Nepal
   २ भाद्र २०७७, मंगलबार


काठमाडौं । विदेशमा अलपत्र नेपालीसँग चर्को शुल्क उठाउँदै उडान गर्दै आएको सरकारले अहिले भने उडान नै रोकेर उद्धार कार्य स्थगित गरेको छ ।

अलपत्र नेपालीको निशुल्क उद्धार गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पहुँचवालालाई मात्र उद्धार गर्दै आएको सरकारले अहिले भने सम्पूर्ण उडान नै बन्द गरेको पाइएको छ ।

सरकारले व्यवस्थापनमा समस्या आएको बताए पनि यथार्थमा भने चार्टर उडानका नाउँमा भएको अनियमितताका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई विवादमा मुछिएपछि रोकिएको बताइएको छ ।

विगत एक महिनादेखि मनपरी भाडा असुल्दै उद्धार उडान गर्दै आएको सरकारले विभिन्न ट्राभल एजेन्सीसँगको सेटिङमा करोडौं असुल गरिसकेको छ । पर्यटनमन्त्रीनिकट एजेन्सीहरुले माथिल्लो तहसम्म कमिसन पु¥याउँदै उडान गरिरहेको आरोप लागे पनि जिम्मेवार निकायले यसबारे प्रष्टीकरण दिएका छ्रैनन् ।

कोरोनालगत्तै ओम्नीका लागि जहाज चार्टरमा जमानी बसेर विवादमा मुछिएका मन्त्री भट्टराई उद्धार उडानका कारण झनै बदनाम भएका थिए । कामदारलाई निशुल्क ल्याउने सन्दर्भमा श्रममन्त्री रामेश्वर यादवको उदासिनता तथा पर्यटनमन्त्रीको कमाउने अवसरका कारण विश्व श्रम बजारमा नै नेपाल बदनाम बन्दै गएको पाइन्छ ।

यता, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सहसचिव विष्णुराज ढकालले सोमबार सूचना जारी गदै उद्धार कार्य तत्काललाई स्थगन गरेको जनाएका छन् ।

सीसीएमसीले व्यवस्थापनमा समस्या आएको जनाउँदै अन्तराष्ट्रिय चार्टर उडान स्थगित गरेको हो । अन्तर्राष्ट्रिय चार्टर उडान स्थगित भएपछि यसअघि दैनिक १ हजारको संख्यामा गरिदै आएको उद्दार कार्य पनि रोकिएको छ । सरकारले एक साताअघि नै उद्धार उडान आधार घटाउने निर्णय गरेको थियो ।

उद्धार कार्य एक्कासी रोकिएपछि नेपाल फर्कने आशामा ३० भन्दा बढी देशमा रहेका लाखौं नेपाली अलपत्र परेका छन् ।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह