काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको छ ।
आइतबार एक विशेष कार्यक्रमकाबीच ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको हो । सो अवसरमा नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका अध्यक्षमा सौरभ ज्योति चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा रितु सिंह वैद्य, कोषाध्यक्षमा तुषार धर तुलाधर, सचिवमा विजय सिंह वैद्य र सदस्यहरुमा सुरिध राज घिमिरे, दिनेश तुलाधर र अंकुर झुनझुनवाला रहेका छन् । यसका साथै, सल्लाहकारमा पद्म ज्योति, सुरज वैद्य र त्रिभुवन धर तुलाधर चयन भएका छन् ।
प्रथम वार्षिक साधारण सभामा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षका साथै संचालक सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालयको उद्घाटन जापानी दुतावासका मिशन उप–प्रमुख तामुरा ताकाहिरोले गरेका थिए । सामाजिक सेवा मुलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी, तथा व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्दधन गर्ने उद्देश्य राखेको छ । साथै, व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउनेछ ।
प्रतिक्रिया