Logo

Banner-news

सरकारका शर्तले विदेशबाट फर्कने कामदारको थाप्लोमा कम्तिमा १ लाखको ऋण !


GDP Nepal
   ७ भाद्र २०७७, आइतबार


काठमाडौं । सरकारले विदेशबाट फर्कने कामदारका लागि भदौ १६ गतेबाट नियमित उडान सुरु गर्ने भने पनि यसका लागि तोकिएका विभिन्न शर्तका कारण कम्तिमा १ लाख रुपैयाँ ऋण थपिने देखिएको छ ।

विदेशबाट फर्केलगत्तै ७ दिन होटलमा बस्नुपर्ने र यसका लागि सरकारसँग सम्झौता गरेका होटलमा उनीहरुकै मूल्यमा बस्नुपर्ने भएकाले लागत महँगो पर्ने भएको हो । यतिमात्र नभइ होटलबाट स्थानीय तहमा पठाइने र १४ दिन त्यहाँ पनि क्वारेन्टाइन अनिवार्य गरिएको छ ।

यसरी ७ दिन होटल र स्थानीय तहमा १४ दिन गरी २१ दिन क्वारेन्टाइन अनिवार्य गरिँदा ऋण काढेर विदेश गएका तथा त्यहाँ रोजगारी गुमाएका कामदारले जहाज भाडाबाहेक नै औषत ५० हजार हाराहारीमा खर्च गर्नुपर्नेछ ।

आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने तथा त्यसका लागि सस्तो दर नै हाल ४ हजार ५ सय रुपैयाँ रहेकाले यो रकम अतिरिक्त खर्च हुनेछ ।

नियमित उडान भनिए पनि हवाई यात्रुको चाप एकतर्फी मात्र हुने भएकाले सस्तो भाडादरमा उनीहरुले यात्रा गर्न पाउने छैनन् । यसैले श्रम गन्तव्य मुलुकको हवाई भाडा औषत ५० हजार हुने हो भने पनि कामदारले स्वदेश फर्कन र पुनस्र्थापनाका निमित्त कम्तिमा १ लाख खर्चनुपर्नेछ ।

कामदारले स्थानीय तहमा आफ्नै घरमा क्वारेन्टाइन बस्नुपर्दाको लागतबाहेक नै १ लाखभन्दा बढी खर्चनुपर्ने देखिएकाले ऋण काढेर विदेश गएका तथा रोजगारी गुमाएकाहरुले सरकारको निर्णय कार्यान्वयन भएमा राहत महशुस गर्ने अवस्था छैन ।

सरकारले हवाई भाडामा ठूलो हस्तक्षेप गर्न नसके पनि नेपाल आएर बस्ने होटलको क्वारेन्टाइन खर्च भने घटाउन सक्ने अवस्था भए पनि त्यसका पहल गरेको पाइँदैन । कामदारलाई ठूलाभन्दा मध्यम र साना होटलमा सुरक्षित ढंगले राख्न सकिने अवस्था रहँदा रहँदै जवर्जस्ती तारे होटलमा बस्न बाध्य बनाइएको देखिन्छ ।

हाल पाँचतारे होटलले दैनिक ९ हजार शुल्क तोकेका छन् भने चारतारेले ८ हजार, तीन तारेमा ६ हजार, दुई तारेमा ५ हजार एक तारेमा ४ हजार शुल्क निर्धारण गरिएको छ । यो दर होटलले अफसिजनमा नियमित सेवाग्राहीसँग लिने शुल्कभन्दा पनि बढी हो ।

पर्यटकस्तरका साना तथा मझौला होटलहरुले नै १ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म मूल्य निर्धारण गरेका छन् र यो समेत निकै बढी शुल्क हो । राहत दिनुपर्ने बेलामा सरकारसँग मिलेर बढी शुल्क असूल्न उनीहरु उद्यत देखिन्छन् ।

यसरी सरकारकै नीतिका कारण रोजीरोटीका लागि विदेशिएका नेपाली स्वदेश फर्कनेवित्तिकै पाइलापाइलामा लुटिने जोखिम देखिन्छ ।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह