Logo

Banner-news

दक्षिण एसियाली मन्त्री सहभागी होरासिस फोरममा चौधरीको सहजीकरण


GDP Nepal
   १७ आश्विन २०७७, शनिबार


काठमाडौं । विश्वमै प्रतिष्ठित मानिने प्रबुद्ध संगठन ‘होरासिस’ले बिहीबार ‘दक्षिण एसियाका सम्भावना’ विषयमा वेबिनार छलफलको आयोजना ग¥यो । विभिन्न दक्षिण एसियाली मुलुकका मन्त्रीहरू सहभागी छलफलको सहजीकरण सीजी कर्प ग्लोबलका अध्यक्ष तथा संघीय संसदका सदस्य विनोद चौधरीले गरेका थिए ।

‘होरासिस एक्स्ट्राअर्डिनरी मिटिङ–२०२०’ अन्तर्गत आयोजित यो छलफलमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, बंगलादेशका विदेश राज्यमन्त्री शरियार आलम र माल्दिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिद सहभागी थिए ।

दक्षिण एसियामा कोभिड–१९ सँगै भूराजनीतिक अस्थिरताले निम्त्याएका समस्यामा केन्द्रित हुँदै छलफलले पारस्परिक एकता र विकासका लागि आह्वान ग¥यो । यसमा सार्क जस्तो संगठनको भूमिकामा सबै वक्ताले विशेष जोड दिए ।

विश्वभर फैलिएको कोभिड–१९ को असरलाई न्यूनीकरण गर्न सामूहिक प्रयासको विकल्प नरहेको औंल्याउँदै वक्ताहरूले परिवर्तित विश्व व्यवस्थामा दक्षिण एसियाले प्रभावकारी भूमिका निभाउन सक्ने हो भने यो क्षेत्रका मूल्य–मान्यता विश्वभर स्थापित हुने बताए । उनीहरूले सार्क मुलुकहरूबीचको सम्बन्ध मजबुत रहेको र पारस्परिक हितका लागि सबैले उत्तिकै भूमिका निभाइरहेको पनि उल्लेख गरे ।

‘होरासिस एक्स्ट्राअर्डिनरी मिटिङ–२०२०’ मा ७० मुलुकका ८ सयभन्दा बढी नेता, सरकार प्रमुख, राज्य प्रमुख, मन्त्री, व्यावसायिक व्यक्तित्वलगायत सहभागी थिए । छलफल सत्रहरू कोभिड–१९ का कारण उत्पन्न आर्थिक, राजनीतिक, सामाजिक समस्या न्यूनीकरणका विषयमा केन्द्रित थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सबै सहभागीलाई स्वागत गरेका थिए ।

प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह