Logo

Banner-news

लाइसेन्स, ब्लुबुक र सवारीसाधन हराए अनलाइनबाटै आवेदन, १५ दिनमा १५१२ निवेदन !


GDP Nepal
   १९ आश्विन २०७७, सोमबार


काठमाडौं । ड्राइभिंग लाइसेन्स, ब्लुबुक र सवारीसाधन हराए अनलाइनबाटै आवेदन दिनसकिने व्यवस्था छोटो समयमै लोकप्रिय भएको छ । यस्तो व्यवस्था सुरु भएको कुल १५ दिनमा १५१२ निवेदन परिसकेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा भीडभाड बढेसँगै अनलाइनबाटै आवेदन दिनसकिने व्यवस्था गरिएको हो । तर, नयाँ व्यवस्था छोटो समयमै लोकिप्रय बनेपछि प्रहरी कार्यालय उत्साहित बनेको छ । केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । तर, नयाँ व्यवस्थाले त्यो झन्झट हटाएको छ ।

महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् ।

विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ । कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यबस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउँछन् ।

महाशाखामा यही असोजमा हराएका कागजात र सवारी साधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी नयाँ सफ्टवेयररको विकास गरिएको हो । यसका लागि महाशाखाको वेवसाइटमा गएर अनलाईन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ । त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई अप्सन देखिने र सोही आधारमा फर्म भर्नसकिने जनाइएको छ ।

अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्ने छ । त्यही विवरणको आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य शुरु गर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक व्यवस्थापन सम्बन्धिका अन्य विभिन्न गतिविधि अघि बढाएको थियो । महाशाखा कै समन्वयमा विगत ९ वर्षदेखि बिग्रिएर बसेको काठमाडौँ उपत्यकाको २४ स्थानका सञ्चालित प्रविधिमैत्री ट्राफिक बत्तीले सवारी आवागमनमा सहज पारेको छ । अन्य ११ स्थानका लागि काम भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै सर्भिलेन्स भेईकल्स, राडर गन, बे्रथलाइजरको समेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही जारी छ । भेइकलमार्फत ५५६ र राडर गनमार्फत एक हजार ७६४ सवारी साधनलाई कारवाही गरिएको छ । ब्रेथलाइजरको प्रयोग गरी २५ हजार बढी सवारी कारवाही गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह