Logo

Banner-news

नर्भिक अस्पताल रक्षात्मकः तलब कट्टीदेखि बैंक खातासम्ममा यस्तो प्रष्टीकरण !


GDP Nepal
   १ कार्तिक २०७७, शनिबार


काठमाडौं । नर्भिक अस्पताल पछिल्लो समय विभिन्न विवादमा तानिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई उल्लेख्य सहयोग गर्दै आए पनि यसले प्रशंशाभन्दा बढी गाली पाउन थालेको छ ।

चौधरी समूहद्वारा प्रवद्र्धित यस अस्पताल पछिल्लो समय विवादमा तानियो । विवाद सामाजिक सञ्जालबाट सुरु भएर सामाजिक सञ्जालमै बढाइचढाई प्रचार गरिएको छ ।

नेपालमा कोरोना भाइरसले महामारीको रुप नलिँदै नर्भिकमा आधा दर्जनको मृत्यु भएको अफवाह फैलाइयो भन् त्यसयता नर्भिक अस्पतालले कामदार तथा कर्मचारीलाई निकालेको प्रचार जोडतोडले गरियो ।

यस्तै, कहिले अतिरिक्त शुल्क लिएको, कहिले कर्मचारीलाई सरकारी स्केलअनुसार तलब नदिएको तथा हाल नर्भिकका सञ्चालक वसन्त चौधरीको लगानी रहेको युनाइटेड फाइनान्समा खाता खोलेको समाचार चर्चामा छन् ।

पछिल्लो समय एकपछि अर्को विवादमा मुछिएको नर्भिक इन्टरनेशनल हस्पिटलले विज्ञप्ति जारी गर्दै कुत्सित मनशाय राखी भइरहेको तथ्यहीन प्रचारप्रसारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– कोभिड १९ विरुद्धको लडाईमा अग्रणी भूमिका निर्वाह गरिरहेको नर्भिक टिमको मनोबल गिराउने योजनाअनुसार भइरहेका गतिविधिप्रति हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ । कहिले नर्भिक अस्पतालले कामदार तथा कर्मचारीलाई निकालेको, कहिले अतिरिक्त शुल्क लिएको, कहिले कर्मचारीलाई सरकारी स्केलअनुसार तलब नदिएको भन्नेजस्ता भ्रमपूण प्रचारप्रसार गर्ने त कहिले नर्भिककै चिकित्सक वा कर्मचारीलाई केन्द्रीत गरी मनोबल गिराउने उद्देश्यले भइरहेका प्रचारप्रसार तथ्यहीन, कपोकल्पित र गलत रहेको व्यहोरा अनुरोध गर्न चाहन्छौं ।

नर्भिकले कोभिडको विषम परिस्थितिमा पनि गर्दै आएको सेवालाई ढाकछोप हुने गरी, कोभिडविरुद्धको सामूहिक लडाईमा दिएको बलियो साथलाई समेत नजरअन्दाज गरिएको गुनासो गरेको छ ।

विज्ञप्तिमा उल्लेख छ– हाम्रो उच्च व्यवस्थापनले गरेको योगदानलाई समेत बिर्सिएर, अस्पतालले यस्तो अवस्थामा पनि प्रवाह गर्दै आएको विश्वस्तरीय स्वास्थ्य सेवाको विषयमा बोल्न नसक्नेहरुले योजनाबद्ध ढंगले हामीमाथि प्रहार गरिरहेका छन् । त्यस्ता गिरोहहरुले विभिन्न सरकारी निकायलाई समेत प्रभावित बनाई हामीलाई विचलित बनाउने उद्देश्य राखी नियोजित आरोप लगाउने काम भइरहेको हाम्रो ठहर छ । नर्भिक यी सारा भ्रमपूर्ण प्रचारप्रसार र बद्नाम बनाउने प्रयासहरुको खण्डन गर्दछ ।

नर्भिकले विज्ञप्तिमा यस्ता प्रयासहरुबाट नर्भिकको टिम र हाम्रा कुनै पनि सदस्यहरु हतोत्साही हुने छैनन् भनेको छ । विज्ञप्तिमा कमजोर धरातलमा टेकेर गरिएका गलत प्रचारप्रसारले नर्भिकलाई कर्तव्य निर्वाहबाट च्यूत गराउने छैन भनिएको छ ।

विज्ञप्तिमा उल्लेख छ– हाम्रो उत्साह कुनै पनि कुत्सित प्रयासका कारण कम हुने छैन । कोभिड संक्रमण तीव्र बनिरहेकै बेला भइरहेका यस्ता नियोजित प्रहारहरुले हाम्रो सेवाभाव अलिकति पनि कम हुने छैन ।

यता, नर्भिकले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निश्कासन नगरेको उल्लेख गरेको छ ।

ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निश्कासन गरिएको भन्ने लगायतका व्यहोरामा कुनै सत्यता नभएको स्पष्ट पारिएको छ। साथै, हस्पिटलको आन्तरिक कर्मचारी व्यवस्थापन विनियम बमोजिम उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीहरुलाई सेवानिवृत गरिएको विषयलाई समेत बढाईचढाई गरी भ्रम छर्ने काम भएको भन्दै खेद प्रकट गरिएको छ ।

नर्भिक हस्पिटलले यसअघि सम्पूर्ण कर्मचारीहरुको तलबसुविधा व्यक्तिगत खाता लक्ष्मी बैंकमा खोली जम्मा गरिँदै आएकोमा आगामी असोज महिनादेखि लक्ष्मी बैंकको सट्टामा युनाइटेड फाइनान्स कम्पनीमा खाता खोली कर्मचारीहरुको तलब जम्मा गरिदिने विषयमा सत्यता रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– यस हस्पिटल व्यवस्थापन समितिको निर्णयअनुसार सुरु गर्न लागिएको विषयलाई समेत बढाईचढाई प्रचार गरिएकोमा हाम्रो आपत्ति छ । युनाइटेड फाइनान्स कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा खातावालालाई राम्रो सेवा सुविधाका अतिरिक्त आकर्षक बीमा सुविधा समेत प्रदान गर्ने भएकै कारण त्यही संस्थामा कर्मचारीहरुको तलब बचत खाता सञ्चालनको निर्णय भएको हो ।

नर्भिकले यस निर्णयबाट कुनै पनि कर्मचारीको थप आर्थिक भार नपर्ने साथै यस योजना लागू गर्नुमा नर्भिक र यस हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीको कुनै पनि व्यक्तिगत स्वार्थ नरहेको जनाएको छ ।

कर्मचारीको तलव काटेको भन्ने अर्को आरोपमा पनि सत्यता नरहेको उल्लेख छ । सुरु सुरुको महिनामा कोरोनाको कहर बढ्दै गएकोमा लामो लकडाउनको अवस्थामा अस्पतालको व्यस्तता ज्यादै कम भएकोले श्रम ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार नै साप्ताहिक रुपमा ४८ घण्टाको सट्टा ३६ घण्टा काम गराएर सोहीअनुसार तलब दिइएको जनाइएको छ ।

लकडाउन हटी हस्पिटलको व्यस्तता बढेपछि भाद्रदेखि फेरी सबै कर्मचारीहरुलाई साप्ताहिक ४८ घण्टाको काम लगाई सोही आधारमा तलब दिइँदै आएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– कोभिडविरुद्धको लडाईमा सामूहिक प्रयास र सहकार्यको खाँचो छ । कोभिडविरुद्धको लडाईका फ्रन्टलाइनर स्वास्थ्यकर्मीको मनोबल गिर्ने गरी कुनै पनि भ्रम नफैलाइदिनुहुन अनुरोध छ । कोही कसैलाई कुनै हाम्रा सेवा लगायतको विषयमा द्विविधा सिर्जना भएमा उच्च व्यवस्थापन त्यस विषयमा प्रष्ट पार्न हरदम तयार रहेको व्यहोरा अनुरोध छ । कोभिड संक्रमण भयावह बनिरहेको यो बेलामा स्वास्थ्यकर्मीको मनोबल गिराउने, अस्पतालको सेवाको विषयमा भ्रम छर्ने भन्दा पनि यो युद्धका फ्रन्टलाइनरहरुलाई उत्साहित बनाउने जिम्मेवारी तपाईहामी सबैको हो । आगामी दिनमा सबैबाट नर्भिक यो आशा गर्दछ ।

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह