Logo

बिजनेस होम

गणेशमान सिंह प्रतिष्ठानले चिकित्सकीय परामर्श सेवा प्रदान गर्ने


GDP Nepal
   २० कार्तिक २०७७, बिहिबार


काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीका पहलमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि नागरिक लक्षित चिकित्सकीय परामर्शका कार्यक्रम गरिने भएको छ ।

मुलुकको वर्तमान समस्याको गाम्भीर्यलाई मनन गरी सर्वमान्य नेता गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा नागरिक लक्षित विभिन्न कार्यक्रम गरिन लागेको हो ।

अध्यक्ष जोशीले सबै निर्वाचित जनप्रतिनिधि तथा कांग्रेसका जिम्मेवार नेतालाई आआफ्ना क्षेत्रमा कोरोनाको संक्रमण नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रहसमेत गरे । नेता सिंहको जन्मजयन्तीको दिन अर्थात् यही कात्तिक २४ गतेदेखि कोरोनाबाट बच्ने उपायको जानकारीमूलक पम्पलेट, कपडाको मास्क र सिटामोल ट्याब्लेट घरघरमा उपलब्ध गराउने योजना छ।

यसैगरी कात्तिक २४ गतेदेखि नै चिकित्सकद्वारा फोनमार्फत कोरोनासम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउने उद्देश्यले टेलीसेन्टर सञ्चालन गरिने छ । सो सेवा बिहान, दिउँसो र राति गरी २४ सै घण्टा उपलब्ध हुनेछ ।

टेलिसेन्टरमा डा. रवीन्द्र पाण्डे (फोन नं. ९८४७३९४५२०) र डा. भूपेन्द्र बस्नेत (फोन नं. ९८५१०५९४००) को पनि सहयोग रहने नेता जोशीले जानकारी दिए ।

कोरोना संक्रमण भएपछि अक्सिजनको मात्रा घट्दै जाने र यसले थप जटिलता ल्याउने भएकाले आवश्यक परेका तर आफैँ किन्न नसक्नेलाई अक्सिमिटर (पल्समिटर) उपलब्ध गराइने छ । यसरी अक्सिमिटर लिएकाहरुले काम सकिइसकेपछि अरु कुनै आवश्यक परेका घरमा दिएर वा जोसँग लिएको हो सोही व्यक्तिलाई फिर्ता गरी सहयोग गर्न पनि आग्रह गरिएको छ ।

कोरोना संक्रमितमध्ये कसैको समस्या जटिल भएमा तत्काल १०२ मा फोन गरेर एम्बुलेन्स मगाई अस्पताल लैजान समन्वय गरिनेछ ।

नेता जोशीले स्वास्थ्य र सुरक्षाकर्मी तथा अग्रपंक्तिमा कार्यरतलाई जोखिम भत्ता उपलब्ध गराउन, श्वासप्रश्वाससम्बन्धी वार्डको तत्काल व्यवस्था गर्न र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था तत्काल पुनर्बहाली गर्न सरकारसँग माग गरे ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह