काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको मिति नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूह देश दौडाहामा छ । धनगढीबाट नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा हुँदै यो समूह पहिलो चरणको कार्यक्रम सकाएर सोमबार काठमाडौं फर्कंदैछ ।
तर, वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधान भने यतिबेला रक्षात्मक स्थितिमा छन् । जिल्लानगर समूहकै पृष्ठभूमिका किशोर प्रधान जिल्ला भ्रमणमा निस्किन सकेका छैनन् ।
पश्चिम क्षेत्र भ्रमणमा निस्किन लागेकै बेला ढकाल समूहले ओभरटेक गरेको र अधिकांश जिल्लानगर अध्यक्ष ढकालसँग्र भ्रमणमा हिँडेपछि प्रधान समूह जिल्ला नगर भ्रमणमा निस्किने योजना थाँती राखेर बसेको छ ।
प्रधान समूहको पूर्वी नेपालमा प्रभाव बलियो रहे पनि पश्चिम नेपालमा कमजोर रहेका कारण यो समूह सो क्षेत्र भ्रमणमा जाने योजना रहे पनि ढकाल समूहको देश दौडाहा र कतिपय जिल्लानगरका प्रतिनिधि रारा भ्रमणतर्फ लागेकाले कार्यक्रम फिर्ता गर्न बाध्य भएको छ ।
यता, महासंघ उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविइङ गर्नका लागि आफूले उमेद्वारी दिएको बताए ।
आइतबार बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफू चुनावी प्रतिबद्घतामा दृढ रहेको बताए । वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफू त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको उनले बताए ।
आफूले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने बताए ।
ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताए ।
उनले भने– आधा शताब्दीभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्र ढकाल जिल्लाकै साथीहरुसँग हातेमालो गरेर अघि बढ्नुहुने बताउँदै ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सिमित भएर बस्न नसक्ने बताए ।
यस्तै, कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरे ।
‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ । तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि मैले उम्मेदवारी दिएको हुँ ।’
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलगायत विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया