Logo

बिजनेस होम

प्रधानमन्त्रीसँगै गए ५२ जना व्यवसायी, किन यसरी मरिहत्ते गर्छन् व्यवसायी ?


appharu
   ६ असार २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीन भ्रमणमा छन् । ओलीको १ सय १९ भ्रमण टोलीमा उद्योगी व्यापारीमात्र ५२ जना छन् ।

भ्रमण टोलीको ४८ सदस्यको खर्च सरकारी कोषबाट हुने भए पनि बाँकी सबै आफ्नै खर्चमा बेइजिङ पुगेका हुन् । सबैजसो व्यवसायी आफ्नै खर्चमा बेइजिङ जाँदा भ्रमण टोली जम्बो भएको छ भने बेइजिङलाई नेपाली टोली व्यवस्थापन नै सकसपूर्ण हुने देखिन्छ ।

प्रधानमन्त्री भ्रमणमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर कमर्सलगायतका संघ संस्थाको प्रतिनिधित्व स्वभाविक भए पनि पछिल्ला भ्रमणहरुमा यी संस्थाबाटै अस्वाभाविक रुपमा सहभागिता बढ्न थालेको छ ।

महासंघबाट अध्यक्ष भवानी राणासहित निवर्तमान अध्यक्ष निवर्तमान अध्यक्ष पशुपति मुरारका, महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समिति सदस्यहरू ज्योत्सना श्रेष्ठ र प्रवलजंग पाण्डे तथा निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी भ्रमण टोलीमा छन् ।

परिसंघबाट अध्यक्ष हरिभक्त शर्मासहित सहित ५ जना र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित ५ जना भ्रमण दलमा परेका छन् । चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेशकुमार अग्रवाल र दिपक मल्होत्रा पनि भ्रमणमा सहभागी छन् ।

वस्तुगत संघहरुबाट पनि उल्लेख्य सहभागिता छ । निर्माण व्यवसायी महासंघबाट अध्यक्ष विष्णुभाई श्रेष्ठ र सल्लाहकार रमेश शर्मा तथा नाडाबाट उपाध्यक्ष कृष्णप्रसाद दुलाल र सुनिल रिजाल, इप्पानबाट अध्यक्ष शैलेन्द्र गुरागाईं एवं उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसानका अध्यक्ष रमेश सिलवाल र महासचिव लोकवहादुर भण्डारी पनि प्रधानमन्त्रीको भ्रमण दलमा छन् ।

यस्तै, प्रधानमन्त्री चढेर गएको जहाज हिमालयन एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा पनि भ्रमण दलमा छन् ।

किन गए साढे ४ दर्जन व्यवसायी ?
सरकारी सञ्चारमाध्यम राससका अनुसार भ्रमणका क्रममा दुई देशका सरकारी र निजी क्षेत्रबीच रु दुई खर्ब बढीको लगानी सम्झौता हुनेछ र सोही कारण ठूलो संख्यामा व्यापारीहरु चीन भ्रमणमा सँगै गएका हुन् ।

तर, व्यापारीहरुमध्ये अधिकांशलाई यसमा कुनै सरोकार नै छैन । भ्रमण टोलीमा सँगै गएको भन्दै पावर देखाउनका लागि केही व्यापारीहरु सरकारी अधिकारीको चाकडी गरेरै बारम्बार प्रधानमन्त्रीको भ्रमणमा पर्दै आएका छन् ।

दुई तिहाई बहुमतको सरकार भएको र ५ वर्षका लागि स्थायी सरकार नै भएकाले सत्ताको नजिक बसेर व्यापार व्यवसाय चलाइरहेका व्यवसायीहरुका लागि प्रधानमन्त्रीसँगको सम्बन्ध सुमधुर बनाउनु जरुरी छ । नत्र, सरकारले जुनसुकै अभियोग लगाएर दुःख दिन सक्छ भन्ने हालैको बाजेको सेकुवा प्रकरणले स्पष्ट पारिसकेको छ ।

यस्तै, कतिपय व्यवसायीहरु भने समाजमा प्रतिष्ठाका लागि अर्थात प्रधानमन्त्रीसँगै गएको भनेर फेसबुकमा फोटो राख्नकै लागि भ्रमणमा गएका छन् ।

यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा नपरेपछि कतिपय व्यवसायी पत्रकारको कार्ड भिरेर समेत नयाँ दिल्ली पुगेको देखेका एक व्यवसायी नै भन्छन्– भ्रमण टोलीमा पर्न साथिहरु मरिहत्ते गरेको देखेर हामीलाई त लाज लाग्न थालेको छ ।

महासंघ, परिसंघ र चेम्बरले नै सकेसम्म ठूलो टोली लैजान उत्प्रेरित गर्ने गरेको पाइन्छ । यी तीन संस्थाबीच कसले ठूलो टोली लैजाने भन्नेमा प्रतिस्पर्धा रहेको देखिन्छ ।

तर, भ्रमण टोलीले हवाई र होटल खर्च आफैं व्यहोरे पनि चीनस्थित नेपाली दूतावासदेखि चिनियाँ पक्षले दिने भोजमा समेत नेपाली प्रतिनिधिमण्डलको भीडभाडका कारण देशको बदनाम हुनसक्ने परराष्ट्रका पूर्व अधिकारीहरु नै बताउँछन् ।

प्रकाशित : ६ असार २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह