अमेरिका (एजेन्सी): अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध खोप सफल परीक्षण गरेर विश्वभर उत्साहको सञ्चार गरिरहेका बेला अर्को कम्पनीले त्यसभन्दा पनि भरपर्दो खोप परीक्षण सम्पन्न गरेको छ ।
फाइजरको खोप ९० प्रतिशत सफल भएको थियो भने अर्को कम्पनी मोडेर्नाले विकास गरेको नयाँ खोपले कोभिड १९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको छ ।
दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ।
बीबीसीका अनुसार मोडेर्नाले यसलाई एउटा ठूलो दिन भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ।
यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो। बाँकीलाई डम्मी खोप लगाइएको थियो।
पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो।
ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए। बाँकी ९० जना डम्मी खोप दिइएकाहरू थिए।
यो खोपले कोरोनाभाइरसबाट ९४.५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ। यद्यपि खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ।
मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ। यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ।
फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो।
प्रतिक्रिया