Logo

Banner-news

रहेनन् इमानदार र कर्मशील होटल व्यवसायी शाक्य, मजदुरका पनि प्रिय थिए उनी !


GDP Nepal
   ५ मंसिर २०७७, शुक्रबार


काठमाडौं। होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष तथा अमर होटलका सञ्चालक अमरमान शाक्यको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको छ।

तीन सातादेखि बिरामी रहका शाक्यको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमणसँगै निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ६८ वर्षीय शाक्य अमर होटलका संचालक हुन्। उनका दुई छोरा छन्।

अमरमान शाक्य

कालिमाटीको भित्र ताहाचलस्थित अमर होटलमा सञ्चालक शाक्य आफैंमा ठूला होटल व्यवसायी नभए पनि मुलुकका सबैजसो पाँच तारे र ठूला होटलका लागि उनको नेतृत्व स्वीकार्य थियो । फलस्वरुप उनले तारे होटलहरुको संगठन होटल संघ नेपालको नेतृत्व गर्ने अवसर पाए ।

हानमा उनी निर्वाचित भएसँगै एकतारे होटलका सञ्चालक भनेर टिप्पणी हुने गरे पनि उनको कर्मशील तथा इमानदार व्यक्तित्वका कारण उनले आफ्नो कार्यकालका उपलब्धिबाटै यसको जवाफ दिएका थिए । वर्षौंदेखि पिलो बनेर रहेको सेवा शुल्क बाँडफाँडजस्तो गम्भीर विषयलाई उनले सहज ढंगले समाधान गरेका थिए ।

शाक्यलाई नजिकबाट सहयोग गर्ने तत्कालीन महासचिव (हाल प्रथम उपाध्यक्ष) विनायक शाह मजदुर प्रतिनिधिसँग सरल रुपमा प्रस्तुत हुने शाक्यको स्वभावकै कारण सहमति सम्भव भएको स्मरण गर्छन् । शाक्य आफैं मेहनत गरेर सिर्जना गरेको व्यवसायबाट स्थापित भए पनि धेरै महत्वाकांक्षा नभएका व्यवसायीका रुपमा स्मरण गर्छन् उनलाई नजिकबाट चिन्नेहरु ।

होटल संघमा मात्र उनले दुई दशकभन्दा लमो समय बिताउँदा कहिल्यै विवादमा परेनन् । संयोग पनि कस्तो रह्यो भने उनी अध्यक्ष रहेकै बेला निवर्तमान अध्यक्ष रहेका बिके श्रेष्ठको निधन भएको थियो भने अहिले आफैं निवर्तमान अध्यक्ष हुँदा उनको असामयिक निधन हुन पुग्यो ।

होटल संघ नेपालले होटल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पु¥याउदै आएका शाक्यको निधनले क्षति पुगेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ- संघको निवर्तमान अध्यक्ष भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाल सरकारबाट बिशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई प्रदान गर्ने “प्रवल जनसेवाश्री चतुर्थ” बाट विभूषित श्री अमरमान शाक्य ज्यूको मिति २०७७ मंसिर ५ गते शुक्रबार विहान ७२ वर्षको उमेरमा स्वर्गारोहण भएको सूचना सम्प्रेषण
गर्दा हामी स्तब्ध भएका छौं ।

२४ वर्षभन्दा बढी होटल संघ नेपालमा सक्रिय भई अतुलनीय योगदान पु¥याउनुभएका स्वर्गीय शाक्य यस क्षेत्रमा स्वस्थापित एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति हुनुको साथै अतिथ्यता उद्योगको स्तरउन्नति र समग्र पर्यटन प्रबर्धनका एक सक्रिय अभियन्ता रहेको हानले जनाएको छ ।

होटल क्षेत्रमा रोजगारदाता र श्रमिकको बीच एकता र सह–सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण कायम राख्न स्व. शाक्यको अति महत्वपूर्ण योगदानको स्मरणका साथ यस दुःखद घडिमा स्व. शाक्यप्रति भावपूर्ण
श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको हानले जनाएको छ ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह