Logo

Banner-news

निर्वाचनमा महासंघका पूर्वअध्यक्षहरुः कसको के स्वार्थ ?


GDP Nepal
   १० मंसिर २०७७, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासीद्वय चन्द्रप्रसाद ढकार र किशोर प्रधानको पक्ष विपक्षमा पूर्व अध्यक्षहरु बाँडिएका छन् ।

महासंघका पूर्वअध्यक्षद्वय चण्डीराज ढकाल र सुरज वैद्य ढकालको पक्षमा खुलेर लागेका छन् भने पूर्वअध्यक्षहरु कुशकुमार जोशी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, पशुपति मुरारकालगायत प्रधानको पक्षमा उभिएका छन् ।

वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारलाई पूर्वअध्यक्षहरुले नै बोकेर हिँड्दा सहमतिको नाउँमा भएका प्रयासहरु अर्थहीन भए । सहमतिकै लागि गरिएका कतिपय प्रयास औपचारिकताका लागि मात्र भएको देखिन्थ्यो ।

पूर्वअध्यक्षहरुको गुटबन्दीभन्दा अगाडि बढेर वर्तमान कार्यकारिणी समितिमा रहेका अध्यक्ष सुनिश्चित भइसकेका वरिष्ठ उपाध्यक्ष, निवर्तमान अध्यक्ष, विशिष्ट सदस्य तथा बहालवाला अध्यक्ष पक्ष विपक्षमा उभिँदा महासंघको शाख घटेको टिप्पणी भइरहेको छ ।

निवर्तमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष शेखर गोल्छा महासंघमा अर्का पूर्वअध्यक्ष चण्डीराज ढकालले समर्थन गरेकै कारण चन्द्र ढकाललाई पराजीत गर्न कोभिडको समेत परवाह नगरी देश दौडाहामा गए भने अध्यक्ष भवानी राणाले पनि प्रधानलाई नै खुलेर समर्थन गर्दा महासंघमा सहमतिभन्दा इगोको वातावरण बलियो बन्यो ।

पूर्वअध्यक्ष चण्डीराज ढकाल आफू अनुकुल नेतृत्व छनोट गरेर फेरि महासंघमा हावी हुन चाहान्छन् भन्ने लुकेको छैन । तर, ढकालको यो पै्रवृत्तिको विरोध गर्नेहरु नै आफैं ढकालको पदचाप पछ्याउन उद्यत देखिएका छन् ।

महासंघमा किशोर प्रधानको टिम निर्माण र भोट बटुल्नमा सक्रिय रहेका पशुपति मुरारकाले ढकालकै पदचाप पछ्याएको व्यवसायीहरुले टिप्पणी गर्न थालेका छन् । मुरारकाको एशोसिएट उपाध्यक्षमा उत्तराधिकारी रहेका शेखर गोल्छा अध्यक्ष सुनिश्चित भइसके पनि त्यसपछिसमेत महासंघमा आफ्नो प्रभाव राख्नका लागि वरिष्ठ उपाध्यक्षमा प्रधानलाई जिताउन हरतहरले लागिरहेको बताइएको छ ।

महासंघमा प्रधानलाई समर्थन गर्ने अन्य पूर्वअध्यक्षहरुको भित्री पाटो केलाउँदा कुनै न कुनै स्वार्थ जोडिएको पाइन्छ । पूर्वअध्यक्ष महेशलाल प्रधानका छोरा मनिषलाल प्रधान किशोर प्रधानको प्यानलबाट वस्तुगत सदस्यका उम्मेदवार छन् भने अर्का पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठका छोरा उदीप श्रेष्ठ पनि सोही प्यानलबाट एशोसिएट सदस्यका उम्मेदवार छन् ।

अर्का पूर्वअध्यक्ष पद्म ज्योतिका छोरा सौरभ ज्योति पनि प्रधान समूहकै एशोसिएट उपाध्यक्ष हुन् ।

पूर्वअध्यक्ष कुशकुमार जोशीका पारिवारिक नातेदार हुन् प्रधान । यसैले जोशीले पूर्वअध्यक्षको रुपमा भन्दा पनि नातेदारका रुपमा उनलाई समर्थन गर्नु स्वाभाविक देखिन्छ ।

पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले सहमतिको प्रयास गरे पनि सफल हुन नसक्नुको कारण पनि अन्य पूर्वअध्यक्षहरुको आफ्ना छोरा र नातेदारलाई स्थापित गर्ने चाहना प्रधान रहेको व्यावसायिक वृत्तमा चर्चा छ ।
पूर्वअध्यक्ष रहेर पनि महासंघका गतिविधिमा निष्कृय रहँदै आएका विनोद चौधरी र प्रदीपजंग पाण्डेको समर्थन भने चन्द्र ढकालले पाएका छन् । पाण्डेका छोरा प्रबल जंग पाण्डे पनि एशोसिएट सदस्य उम्मेदवार हुन् ।

प्रकाशित : १० मंसिर २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह