Logo

Banner-news

एकतावद्ध निजी क्षेत्रको नेतृत्व लिन महासंघलाई ललितपुर उवासंघको अपिल


GDP Nepal
   २५ मंसिर २०७७, बिहिबार


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले एकताबद्ध निजी क्षेत्र अभियानको नेतृत्व सम्हाल्न नेपाल उद्योग वाणिज्य महासंघलाई आग्रह गरेको छ ।

महासंघका अध्यक्ष लगायत महासंघको ५४ औं साधारण सभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई स्वागत एवं बधाई कार्यक्रम आयोजना गर्दै मंगलबार अध्यक्ष कृष्णलाल महर्जनले निजी क्षेत्रलाई एकताको सूत्रमा बाँध्न आग्रह गरेका हुन् ।

“निजी क्षेत्रको छाता संगठनका हैसियतले महासंघको काँधमा ऐतिहासिक जिम्मेवारी छ र त्यो जिम्मेवारी महासंघले सीएनआई, चेम्बरलगायत अन्य संगठनसमेतको विश्वास र सहमति लिएर पूरा गर्नुपर्छ,” अध्यक्ष महर्जनले भने, “अन्य संगठनलाई पनि विश्वासमा लिनुपर्ने र निजी क्षेत्रको साझा धारणा बनाउनुपर्ने यो बेला हामी महासंघभित्रै एक आपसमा पुराना तुष पालेर बस्यौं भने कहिँ पनि पुग्दैनौं । यसैले एकताबद्ध निजी क्षेत्र आजको आवश्यकता हो र निसन्देह यसको नेतृत्व महासंघले नै लिनुपर्छ ।”

अध्यक्ष महर्जनले निजी क्षेत्रको नेतृत्व महासंघले लिएमा ललितपुर उद्योग वाणिज्य संघ महासंघलाई काँधमा बोकेर अगाडि बढ्न पनि तयार रहेको बताए ।

“कोभिडका कारण यतिबेला निजी क्षेत्र नराम्ररी थला परेको छ । महामारीको संकट सुरु भएको झन्डै ९ महिना पुग्न लागिसक्दा पनि बल्ल हामी सरकारबाट घोषित पुनर्कर्जा र व्यवसाय सञ्चालन कोष कार्यान्वयनको पहिलो चरणमा आइपुगेका छौं । अहिलेसम्म राष्ट्र बैंकले ऋणीप्रति राखेको सद्भावकै कारण आम व्यवसायीहरुको समस्या सतहमा त्यतिधेरै आइसकेको छैन । तर, व्यवसाय पुनः सञ्चालन नहुने हो र अर्थतन्त्रले पहिलेकै लय पक्रन सकेन भने केही समयभित्रै यो विष्फोट हुनसक्ने अवस्था छ,” कार्यक्रममा महर्जनले भने ।

महासंघको नयाँ नेतृत्वले अहिलेको संकट र चुनौतीलाई अवसरका रुपमा पनि लिनु आवश्यक रहेको उनको भनाइ छ । “हामी निजी क्षेत्र भनेकै संकटमा अवसर देख्ने वर्ग भएकाले सरकारलाई फकाएर हुन्छ कि दबाब दिएर हुन्छ, जसरी पनि निजी क्षेत्रका एजेण्डामा अगाडि बढाउनु पर्छ । त्यसका लागि हामी पहिले एक हुनु आवश्यक छ,” उनले भने, “हामीले अर्थतन्त्र पुनरुत्थानका लागि मात्र नभइ अबको मुलुकको एजेण्डा नै राजनीतिक नभै आर्थिक एजेण्डा हो भनेर स्थापित गर्न सक्यौं भने निश्चय पनि हाम्रो कार्यकाल सफलमात्र नभइ ऐतिहासिक पनि हुनेछ । ”

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष महर्जन महासंघको ५४ औं साधारणसभाबाट एशोसिएटतर्फ कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा अव पक्ष विपक्ष भन्ने भावना सकि सकेकोले अव सबै मिलेर देश आर्थिक विकासका लागि सशक्त रुपमा कार्यक्रम बनाउने बताए । सुष्त रहेको आर्थिक गतिविधिलाई गति दिन महासंघले चाँडै नै एउटा डकुमेण्टेशन तयार गरि सबैको सहमति र सल्लाहमा कार्यान्वयका लागि सरकारलाई पेश गर्ने उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले आफ्नो धन्यबादको क्रममा निर्वाचित पदाधिकारी र सदस्यहरु सवै एक जुट भए महासंघलाई एउटा सशक्त र नमूना महासंघको रुपमा स्थापित गर्न लाग्नु पर्ने र यसका लागि संघको सदैव सहयोगी भूमिका हुने पनि बताए ।

कार्यक्रममा नेउवा महासंघका अध्यक्ष शेखर गोल्छा, विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघई, कोषाध्यक्ष सकुन्त लाल हिराचन, कार्यकारिणी सदस्यहरु लगायत वाग्मति प्रदेशको जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

संघका महासचिव मनोज बहादुर न्याछ्योंद्धारा संचालित उक्त कार्यक्रममा संघका अध्यक्ष महर्जनले नेपाली परम्परा अनुसार सगुन र खादा, निर्वतमान अध्यक्ष सविन श्रेष्ठले फुलको गुच्छा, वरिष्ठ उपाध्यक्ष जोशीले टिका लगाई महासंघका अध्यक्ष लगायत महासंघको ५४ औं साधारण सभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह