Logo

Banner-news

महासंघबाट बाहिरिएको ३ वर्षमै चेम्बरले पदाधिकारीलाई स्वागत गर्नुको अर्थ के ?


GDP Nepal
   २६ मंसिर २०७७, शुक्रबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स व्यवसायीहरुको सबैभन्दा पुरानो संगठनमात्र नभइ नेपाल उद्योग वाणिज्य महासंघको जन्मदाता पनि हो । हालैमात्र ५४ औं साधारणसभा मनाएको महासंघ स्थापनाको नेतृत्व चेम्बरसहित १३ उद्योग वाणिज्य संघले गरेका थिए ।

महासंघको जन्मदाता रहे पनि चेम्बर र महासंघबीच सम्बन्ध भने त्यति सुमधुर छैन । महासंघले आफ्नै संस्थापकलाई सम्मान दिन नसकेको चेम्बरको गुनासो र चेम्बरले सरकारका कतिपय निकायमा आफूलाई ओभरटेक गरेको महासंघको आरोप लामै समय चलिरह्यो ।

हुन पनि महासंघले चेम्बरलाई संस्थापक सदस्यका रुपमा नभै ‘काठमाडौं उद्योग वाणिज्य संघ’को हैसियतमा सीमित राखेको थियो । मुलुकमा ७५ जिल्ला रहँदा ७४ जिल्लामा उद्योग वाणिज्य संघ रहे पनि काठमाडौंमा भने चेम्बरमार्फत नै यसको रिक्तता पूर्ति हुँदै आएको थियो ।

काठमाडौंका व्यवसायीहरुको बाहुल्यता रहेको चेम्बरको राजनीतिक पहुँच पञ्चायतकाल र राजाको शासनकालसम्म महासंघभन्दा बलियो थियो । मुलुकमा गणतान्त्रिक शासन व्यवस्थामा समेत चेम्बरको प्रभाव कम भएको छैन । खासगरी प्रशासनिक र राजनीतिक वृत्तमा चेम्बरको प्रभाव छ भने नीति निर्माणका क्षेत्रमा पनि यसको लबिङले ठूलो अर्थ राख्दछ ।

नेपालको निजी क्षेत्रको आकार अझै सानो छ । जसरी सानो जंगलमा दुईवटा बाघ मिलेर बस्न सक्दैनन्, त्यसरी नै आर्थिक क्षेत्रमा महासंघ र चेम्बर मिल्न सकेनन् । चेम्बरका बढ्दो महत्वाकांक्षा र महासंघको देशव्यापी सञ्जालको अहमताका कारण दुई संस्था सँगसँगै हिँड्नै नसक्ने भए ।

यसरी तीन वर्षअघि महासंघले ५१ औं वर्षगाँठ मनाइरहँदा ६७ वर्ष पुगको चेम्बरले महासंघसँगको आवद्धता अन्त्य गरी स्वतन्त्रतापूर्वक अघि बढ्ने घोषणा ग¥यो ।

चेम्बरले महासंघ छाडेको खबरले आम सर्वसाधारणका लागि कुनै अर्थ नराख्न भए पनि मुलुकको आर्थिक क्षेत्र र खासगरी निजी क्षेत्रका लागि भने गम्भीर र दूरगामी अर्थ राख्छ । महासंघबाट बाहिरिने चेम्बरको स्वतन्त्र निर्णयपछि महासंघले आफ्नो बलियो खम्बामात्र गुमाएन, राजधानी काठमाडौंमै संगठविहीन हुन पुग्यो ।

चेम्बर बाहिरिएपछि महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा उद्योग वाणिज्य संघ, काठमाडौं गठन गरियो । जबकि महासंघ आवद्ध अन्य जिल्ला उद्योग वाणिज्य संघहरुले संगठनको नामअघि जिल्लाको नाम सुरुमा राख्ने गर्दछन् । जस्तै, भक्तपुर उद्योग वाणिज्य संघ, पाल्पा उद्योग वाणिज्य संघ इत्यादी ।

काठमाडौं उद्योग वाणिज्य संघ भने पहिल्यै गठन भइ दर्ता भइसकेको र चेम्बर मातहत रहेकाले महासंघ काठमाडौंमा संस्था स्थापनाबाटै चुकेको छ । यसका अध्यक्ष महासंघको जिल्लानगर उपाध्यक्षमा निर्वाचित भइसकेकाले यो संस्थाले चेम्बरलाई धक्का दिनसक्ने सम्भावना झनै कम छ ।

यता, चेम्बरको देशव्यापी संगठन विस्तार जारी छ । जिल्ला उद्योग वाणिज्य संघ निर्वाचनमा राजनीतिक कारणले पराजीत भएका तर व्यवसायीमाझ स्वीकार्य व्यक्तिहरुले चेम्बरलाई देशव्यापी अघि बढाइरहेका कारण यसले महासंघलाई केही वर्षभित्रै कडा टक्कर दिने अवस्था सिर्जना भइसकेको छ ।


यसरी महासंघ र चेम्बर समानान्तर रुपमा अगाडि बढिरहे पनि निजी क्षेत्रका आधारभूत विषयमा भने सहकार्य टुटेको छैन । पछिल्लो समय लकडाउन अवधिको कर्मचारी तथा कामदार तलब निर्धारणमा महासंघसँग चेम्बर र सीएनआईले राम्रै सहकार्य गरेका थिए ।

निजी क्षेत्रका संगठन फरक भए पनि व्यवसायीको आवद्धता भने तीनवटै संस्थामा समेत छ । महासंघ निर्वाचनमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल नै मतदानका लागि गएका थिए भने परिसंघका अधिकांश सदस्य महासंघमा पनि सदस्य छन् ।

यतिमात्र नभइ चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको पक्षमा खुलेरै भोट मागिरहेको दृश्यलाई पनि कसैले अस्वाभाविक मानेनन् ।

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बिहीबार चेम्बरले आफ्नै सचिवालयमा बोलाएर स्वागत ग¥यो । यसले तीन वर्षअघि महासंघबाट संस्थागत बहिर्गमन गरे पनि निजी क्षेत्रको मुद्दामा हामी सँगै अगाडि बढ्न सक्छौं भन्ने सन्देश दिन चेम्बर सफल भएको मान्न सकिन्छ ।

प्रधानमन्त्री केपी ओलीले बुधबार साँझ बालुवाटारमा महासंघ अध्यक्ष शेखर गोल्छालगायतलाई भेटेर निजी क्षेत्रबीच एकता गर्न सुझाएको भोलिपल्टै चेम्बरले गरेको स्वागत संयोगमात्र भए पनि निश्चय पनि यसले सकारात्मक संकेत गरेको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले पनि यसैगरी महासंघलाई यसै साता स्वागत गरेको थियो र सहकार्यमा जोड दिएको थियो ।

निजी क्षेत्रका संघ संगठन धेरै भए पनि सर्वस्वकार्य भनेको महासंघ, परिसंघ र चेम्बर मात्र हुन् । राज्यले पनि यी तीनवटै संस्थालाई मात्र स्वीकारेको देखिएकाले पछिल्लो स्वागत कार्यक्रमलाई अबका दिनमा मिलेर अघि बढ्न बाटो खुलेको अर्थका रुपमा बुझ्न सकिन्छ ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह