Logo

Banner-news

कोरोनाविरुद्ध फाइजरको खोप व्यापक रुपमा लगाउन बाटो खुल्यो, अमेरिकी विज्ञको समर्थन


GDP Nepal
   २७ मंसिर २०७७, शनिबार


वासिङ्टन (एजेन्सी) । अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ ।
अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् ।

विज्ञको सिफारिससँगै कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको हो ।

संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । यहाँ विगत ४८ घण्टाको अवधिमा मा ६ हजार भन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो मृत्युदर बढेसँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या तीन लाखको हाराहारी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

उत्तरी गोलाद्र्धका मुलुकहरुमा चिसो बढेर कोरोना संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको ठानिएको बेलायतमा यसै साता फाइजरको खोपलाई स्वीकृत गरी आमरुपमा खोप लगाउन थालिएको छ ।

क्यानडा, बहराइन र साउदी अरेबियाले पनि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरिसकेका छन् ।

युरोपेली युनियनका मुलुकहरुले पनि फाइजर समेतका कम्पनीका खोपलाई स्वीकृत गर्ने बारेमा छलफल गरिरहेका छन् ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडिए० ले आयोजना गरेको विज्ञहरुको बैठकमा १७ जनाले फाइजरको खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा र एक जना अनुपस्थित रहेका थिए ।

यद्यपी यो मतदान बाध्यकारी भने छैन, तर आपतकालीन प्रयोगको बाटो खोल्न यो मतदानले विशेष महत्व राख्नेछ ।

न्यू इङ्ल्यान्ड मेडिसिन जर्नलले फाइजरको खोप लगाएका करिब ४४ हजार व्यक्तिमाथि गरिएको क्लिनिकल परीक्षणको पूर्ण विवरण प्रकाशन गरेको छ जसले फाइजरको खोप ९५ प्रतिशत सुरक्षित रहेको र खोप लगाउने व्यक्तिमा कुनै गम्भीर शारीरिक असर नदेखिएको जनाएको छ ।

जर्नलको सम्पादकीयमा फाइजरको खोपको नतिजा कोभिड–१९ विरुद्ध ठूलो विजय हो भनिएको छ ।

कोरोनाभाइरस महामारीबाट विश्वभर १५ लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकाले यसै डिसेम्बर महिनाभित्र २ करोड मानिसलाई खोप लगाउने योजना अघि बढाएको छ जसमा केएर होममा रहेका व्यक्ति र स्वास्थ्यकर्मीहरु पहिलो प्राथमिकतामा छन् ।
––

प्रकाशित : २७ मंसिर २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह