Logo

Banner-news

सिंहदरबार अगाडिको होटल सञ्चालनमा, सञ्चालक भन्छन्ः सुरक्षा चुनौती अफवाह मात्रै


GDP Nepal
   २ पुस २०७७, बिहिबार


काठमाडौं । बबरमहलस्थित सिंहदरबारको दक्षिणी गेट अगाडि निर्माण भएको बसेरा बुटिक होटल सञ्चालनमा आएको छ । गएको वर्ष नै भौतिक निर्माणको काम सम्पन्न भएको उक्त होटल गएको सातादेखि आंशिकरुपमा सञ्चालनमा आएको यसका सञ्चालक विशाल पण्डितले जानकारी दिए ।

बुटिक शैलीमा निर्माण भएको बसेरा होटलले हालसम्म स्टार रेटिङ लिएको छैन । सीमित क्षमतामा सञ्चालनमा आएको होटलका कतिपय आन्तरिक निर्माणको काम भने जारी छ ।

सञ्चालक पण्डितका अनुसार अहिलेको कोरोना महामारीका कारण सीमित क्षमतामा सञ्चालन गरिएको हो । होटलको भौतिक संरचना तथा डिजाइनलाई सकेसम्म पराम्परागत लुक्स दिन खोजिएको उनको भनाइ छ ।

अन्य होटलभन्दा बुटिक होटल निर्माणमा ३० प्रतिशत बढी लागत र समय बढ्ने पण्डितको अनुभव छ । उनले आफू बसिरहेको घर भत्काएर सवा दुई रोपनी जग्गामा होटल निर्माण गरेका हुन् ।

होटलमा नेपाल राष्ट्र बैंकको थापाथलीस्थित भवन भत्काउँदा कवाडीमा बिक्री भएका इँटा र काष्ठको समेत केही मात्रामा प्रयोग भएको छ । होटल निर्माणको कूला लागत अझै तय नभइसकेको उल्लेख गर्दै थापाले खर्च हुने क्रम जारी रहेकाले अहिले यसै भन्न नसकिने बताए ।
“हामीले वुड कार्भिङका लागि मात्रै २० करोड खर्च गरेका छौं,” पण्डित भन्छन्, “साल र सल्लोको काठ यसमा प्रयोग भएको छ ।”

होटलको संरचनालाई हामीले परम्परागत लुक्स दिन खोजेको र इँटादेखि झ्यालसम्म सोहीअनुसार प्रयोग गरिएको उनको भनाइ छ । “भवन निर्माणदेखि नै हामीले विशेष ध्यान दिएकाले अहिलेको डिजाइन सोचेअनुसार आएको छ,” उनले भने ।

होटलमा कुल ६० कोठा छन् भने यीनमा ९० बेड रहेको यसका व्यवस्थापक हेलेन घिमिरेले जानकारी दिइन् । प्रत्येक कोठा विशेष सुविधा सम्पन्न रहेको र आधुनिक पाँचतारे होटलभन्दा उच्च लागतमा बनाइएको उनको भनाइ छ ।

कुल तीनवटा रेष्टुरेन्ट भएको होटलमा एउटा नेपाली परिकार पाइने रेष्टुरेन्ट छ। त्यस्तै अर्को कन्टिनेन्टल छ भने अर्को वेस्टर्न रेष्टुरेन्ट हुने छ । यसमा रहेका हलको सिट क्षमता ३ सय रहेको छ ।

‘होटलको डिजाइनसँगै यसकोे स्वाद पनि टिपिकल नेपाली उपलब्ध हुने छ जनाइएको छ । सात तले भवनमा रहेको यो होटलको सातौं तलामा स्वीमिङ पुल पनि रहेको छ । होटलमा स्पा लगायतका सुविधा पनि छन् ।

होटलले सिंहदरवारको सुरक्षामा चुनौती थपिएको प्रचारका सन्दर्भमा भने सञ्चालक पण्डितले आश्चर्य जनाएका छन् । निर्माण पूर्व र निर्माणका क्रममा तथा निर्माणपश्चात तीन चरणमा लिनुपर्ने सबै स्वीकृति आफूले लिइसकेको उल्लेख गर्दै उनले भने, “सुरक्षा चुनौतीका सन्दर्भमा मैले पनि मिडियाबाट मात्र सुनेको हो, मलाई कुनै निकायबाट सोधखोज भएको पनि छैन र मिडियाले पनि मलाई एकबचन नसोधी लेखेका हुन् ।” उनले होटलबाट सुरक्षा चुनौती रहेको चर्चा अफवाहमात्र रहेको बताए ।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह