Logo

Banner-news

संसद् विघटन मुद्दाको इजलास गठनमै चुके प्रधानन्यायाधीश राणा !


GDP Nepal
   १० पुस २०७७, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा अन्य चारजना न्यायाधीश तोकेसँगै गम्भीर आशंका उत्पन्न भएको छ ।

शुक्रवारदेखि सुरु हुने सुनुवाइका लागि चारजना न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलास गठन गरिएको छ ।

इजलास गठन प्रधानन्यायाधीशको तजबिजी अधिकार नै भए पनि त्यसमा उनको निष्पक्षता झल्कन नसकेको टिप्पणी सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले पनि साथ दिने आशंका र प्रचारका बीच सुरु भएको सुनुवाईलाई प्रधानन्यायाधीशको इजलास गठनसम्बन्धी निर्णयले झनै बलियो आधार दिएको टिप्पणी भइरहेको छ ।

न्यायपरिषद्ले संवैधानिक इजलासको निम्ति प्रधानन्यायाधीश सहित १४ जना न्यायाधीशको नाम यसअघि तोकेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । तीमध्येबाट प्रधानन्यायाधीशले आफूसहित पाँच जनाको इजलास गठन गर्ने व्यवस्था छ ।

अधिवक्तासमेत रहेका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले इजलास गठन विवेक प्रयोग नभइ मनलाग्दी ढंगले भएको टिप्पणी गरेका छन् ।

गाउँलेले लेखेका छन्ः न्यायपरिषदले बनाएको रोष्टर मध्येबाट प्रधानन्यायाधीशको विवेकमा संवैधानिक इजलाश गठन हुने हो । तर, यो विवेक प्रयोगमा पनि मनलाग्दी गर्न पाइने र जवाफदेहि हुनुनपर्ने भन्ने होइन । वरिष्ठ न्यायाधीश किन परेनन् ? भावी प्रधानन्यायाधीशहरुको बेञ्च हो भने तेजबहादुर केसी कसरी परे ?

यसअघि प्रधानन्यायाधीश जबराले बुधवार आफ्नो एकल इजलासबाट प्रतिनिधिसभा विघटन विरुद्धका सबै रिट संवैधानिक इजलासमा प्रस्तुत गर्न आदेश दिएका थिए ।

संवैधानिक परिषदको वैठकमा प्रधानमन्त्री ओलीसँग मिलेर भागबण्डा गरेको आरोप प्रधान न्यायाधीश राणामाथि लागेको छ । उनीनिकट कयौं कानुन व्यवसायी तथा पूर्व न्यायाधीश विभिन्न आयोगका लागि सिफारिस भएका छन् ।

यसरी प्रधानमन्त्रीसँग मिलेमतोको आरोप लागेका राणाको नेतृत्वमा रहेको इजलासले कसरी निष्पक्ष न्याय दिन सक्ला भन्ने टिप्पणी सुरु भइसकेको छ ।

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह