Logo

Banner-news

रत्न आभुषण संघका १० बुँदे प्राथमिकताः जेम ल्याबदेखि प्रदेश संरचनासम्म


GDP Nepal
   १४ माघ २०७७, बुधबार


काठमाडौं । नेपाल रत्न तथा आभुषण संघको नयाँ कार्यसमितिले १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । संघको १६ औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशनले गत महिना ज्योत्सना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेसँगै आउँदो तीन वर्षे कार्यकालका लागि नयाँ कार्ययोजना सार्वजनिक गरिएको हो ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले कार्ययोजना सार्वजनिक गर्दै सुन आयातमा कोटा प्रणाली खारेजीका लागि लबिङ गर्ने, निकासीमा ड्युटी ड्र ब्याक कार्यान्वयन गराउने तथा संघको प्रादेशिक संरचना विस्तार गर्ने जानकारी दिइन् ।

अध्यक्ष श्रेष्ठले भनिन्– रत्न तथा आभुषण संघको पहलमा नेपाली गरगहना निकासीका लागि हामीले आफ्नै एचएस कोड पाइसकेका छौं र निकासीमा ड्युटी ड्र ब्याक लागू गर्न सरकार सकारात्मक रहेकाले यसमा हामीले जोड दिनेछौं ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले सुन आयातमा कोटा तोकिँदा निकासीको सम्भावना नै नरहेको उल्लेख गर्दै आयातमा बैंकहरुको मनोमानी अन्त्य गरिनुपर्ने धारणा राखे । उनले कोटा नै खारेज गरी पर्याप्त सुन उपलब्ध गराइनुपर्नेमा जोड दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार संघले सुनचाँदीको दरभाउ सबै संगठनले एकैपटक र एउटै मूल्य तोक्नका लागि आवश्यक सहकार्य गर्नेछ । यस्तै, गरगहना निर्माणका लागि ट्रेनिङ सेन्टर सञ्चालन गरिनेछ र स्वदेशमै रोजगारी सिर्जनामा यस संघले सरकारका विभिन्न योजनामा योगदान पु¥याउने उल्लेख छ ।

संघको कार्ययोजनामा जेम्स एन्ड ज्वेलरी क्षेत्रलाई निर्यातमूलक उद्योगका रुपमा विकास गर्न र सोही अनुसार मान्यता तथा सुविधाका लागि नीतिगत सहयोग र कार्यान्वयनका लागि सरकार र व्यवसायीबीच सहजीकरण गरिने जनाइएको छ ।

संघले आउँदो तीन महिनाभित्र आफ्नै कार्यालयमा जेम ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ ।

विगतका वर्षहरुमा जस्तै नेपाल जेम एन्ड ज्वेलरी एक्स्पोको चौथो संस्करण आयोजना गरिने तथा विदेशमा हुने मेलामा नेपाली उत्पादनको प्रवद्र्धन गरिने जनाइएको छ ।

व्यवसायीका लागि आवश्यक कर्जा, पुनर्कर्जा तथा कर्जा पुनर्तालिकीकरणका लागि राष्ट्र बैंकसँग समन्वय गरिनेछ एवं नेपालमा रहेको माइनिङको सम्भावनालाई उपयोग गर्दै यसको प्रशोधन र निकासीका माध्यमले देशको अर्थतन्त्र तथा व्यापारघाटा कम गर्न योगदान पु¥याइने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित : १४ माघ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह