Logo

Banner-news

रामशरण व्यक्ति हैन संस्था हुन्, खतिवडा उनैका चेला हुन्ः सुरवीर पौड्याल


GDP Nepal
   १ फाल्गुन २०७७, शनिबार


रामशरणहरू पात्र र प्रवृत्ति दुवै हुन् । भुरे टाकुरे रामशरणहरू कांग्रेस र कम्युनिष्टको नामका अरु पनि छन्, तर डा.रामशरण भने अर्थतन्त्रभित्रका पात्र र प्रवृत्तिमात्रै नभएर बलियो पकड भएका सिँगो संस्था पनि हुन् । उनीसँग पश्चिमी देशका ख्याति प्राप्त विश्वविद्यालयबाट डिग्री प्राप्त सुपठित अर्थशास्त्रीहरू छन् ।

महतसँग अर्थ मन्त्रालयमा बसेर काम गरेको लामो अनुभव छ, केही समय अन्तर्राष्ट्रिय संस्थामा बसेर काम गरेको सम्बन्ध पनि छ । उदारीकरण भित्र्याउने लगायतका काम गरेकोले उनको पश्चिमी दातृ निकायहरूसँग प्रगाढ सम्बन्ध छ ।

अर्कोतिर बजारका बिभिन्न स्वार्थ समूहहरू, गलत काम गर्नेहरूको ठूलो जत्था, मूलधारका मिडिया र भजनमण्डली उनको साथ छ । उनी यस्ता स्वार्थ समूहहरूलाई आफ्नो साझेदार मित्र ठानेको र उनीहरूको हित रक्षा गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेको पाएको थिएँ । यसरी हेर्दा क्रोनी क्यापिटलिजम अर्थात् राजनीतिक नेता र उद्योगी व्यवसायीबीचको अबैध साझेदारीको सत्ता उनको मातहत सञ्चालित देखिन्थ्यो ।

अर्कातिर डा. युवराजजी नेपाल राष्ट्र बैंकको क्याडर हुन् र लामो समय अनुसन्धान विभागमा बसेर काम गरेका थिए । एक पटक राष्ट्रिय योजना आयोगको सदस्य र दुईपटक उपाध्यक्ष र एकपटक गभर्नर भएका थिए ।

पछिल्लो पटक अर्थमन्त्री भए र हाल अमेरिकाको राजदूत छन् । डा. रामशरणलाई राम्रो गरी चिनेका युवराजजी जब अर्थमन्त्री भए तब रामशरण र उनको बिचको गुरुचेला सम्बन्ध सार्वजनिक रुपमा पुनर्जागरण भएर आउनु स्वाभाविक हुन्थ्यो ।

डा. युवराजजी साँच्चिकै आतंकित थिए । उनले अर्थ मन्त्रालय सम्हाल्दै गर्दा दुईवटा रणनीति अख्तियार गरेको देखिन्थ्योः एक, प्रम ओलीको दिमाग भुट्ने र पार्टीका बाँकी नेता तथा अर्थशास्त्रीहरुलाई मतलब नगर्ने । दुई, डा. रामशरणलाई रिझाउने । उनले प्रस्तुत गरेका दुवै बजेटहरूको अध्ययनबाट यो कुरा देखिन्छ।

अर्को, बजेट प्रस्तुतपछिको समयमा रामशरणलगायत उनका टिमका अर्थशास्त्रीहरू र साझेदार उद्योगी व्यवसायीको प्रतिक्रियाबाट पनि यो बुझ्न सकिन्छ । उनलाई राम्रै थाहा थियो, आफूले पेश गरेको बजेट रामशरणको चाहना विपरीत भएमा ओली नेतृत्वको दुई तिहाई कम्युनिष्ट सरकारले नियन्त्रणमुखी बजेट ल्यायो, अब नेपाल कम्युनिष्ट देश हुने भयो भनेर हल्लाखल्ला गर्न सक्थे ।

उसै पनि एमाले र माओवादी दुवै मिलेर चुनाव लडेदेखि सरकार बन्दासम्म पश्चिमा देशहरु सशंकित देखिन्थ्ये । युवराजजीको अन्तर्राष्ट्रिय वित्तीय संस्था र दातृ निकायसँग सम्बन्ध बिग्रन सक्थ्यो । वैदेशिक सहयोगमा कटौती हुनसक्थ्यो ।

दोस्रो, उनी आफैँ पनि राष्ट्र बैंकको अनुसन्धान विभागमा बसेका, एक वर्षे कार्यक्रममा राष्ट्र बैंकको क्याडरका रुपमा आईएमएफ हेडक्वाटर अमेरिकामा बसेर आएका, अन्तर्राष्ट्रिय संस्थामा बसेर काम गरेका, उपाध्यक्ष र गभर्नर भएर काम गरेका जस्ता यावत कारणले अन्तर्राष्ट्रिय संघसंस्थाहरू र दातृनिकायसँग उनी स्वयंको राम्रो सम्बन्ध बनेको थियो र त्यो सम्बन्ध भत्काउने गरी आफूले निर्माण गरेको बजेट ल्याउने अभिरुचि उनको पनि थिएन ।

यी दुई कारणले रामशरणको ट्रयाकभन्दा बाहिर जाने गरी युवराजजीकÞो बजेट आउने सम्भावना थिएन । आएन ।

धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. सुरवीर पौड्यालको यो टिप्पणी उनको फेसबुकबाट साभार गरिएको हो ।

प्रकाशित : १ फाल्गुन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह