Logo

अर्थनीति

भ्रमण वर्षको कार्यक्रम संयोजक प्रचण्डमान श्रेष्ठ कि सुमन पाण्डे ?


appharu
   १३ असार २०७५, बुधबार


काठमाडौं । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को राष्ट्रिय कार्यक्रम संयोजक को होला भन्ने प्रश्नले पर्यटन क्षेत्र तातेको छ । भ्रमण वर्षको कार्यक्रम संयोजकका रुपमा वरिष्ठ पर्यटनकर्मी राख्ने परम्परा भएकाले यो पदका लागि अहिलेदेखि नै दौड सुरु भएको छ ।

भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजकका लागि अहिले २ नाम चर्चामा छन् । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ र पर्यटन व्यवसायी सुमन पाण्डे ।

विगतमा सन् १९९८ को नेपाल भ्रमण वर्षमा कर्ण शाक्य र नेपाल पर्यटन वर्ष २०११ मा योगेन्द्र शाक्यले राष्ट्रिय कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए । त्यतिबेला पर्यटन व्यवसायीहरुकै सिफारिसमा वरिष्ठता, योग्यता तथा जिम्मेवारी बहन गर्नसक्ने व्यक्तित्वका रुपमा उनीहरुको चयन गरिएको थियो ।

कर्ण शाक्य र योगेन्द्र शाक्यको चयन निर्विवादजस्तै देखिए पनि यसपटकको नियुक्ति भने विवादमुक्त हुने देखिँदैन । केही विवादास्पद व्यापारीहरु कार्यक्रम संयोजकको दौडमा रहेकाले यस्तो अवस्था आएको हो ।

भ्रमण वर्षको बजेटमा नियन्त्रण राख्ने तथा एक्सपोजरका दृष्टिले पनि निकै महत्वपूर्ण हुने भएकाले यो पदमा धेरैको आकर्षण पनि छ । प्रोटोकलका हिसाबले पनि यो पद पर्यटन बोर्डका सीईओभन्दा माथि हुन्छ ।

कतिपय सरोकारवालाले राष्ट्रिय कार्यक्रम संयोजकको चयन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अग्निपरिक्षा हो समेत भन्ने गरेका छन् । मन्त्री अधिकारीले पर्यटन व्यवसायीको आवाज सुन्छन् कि प्रधानमन्त्रीको निर्देशन मान्छन् भन्ने नै उनको अग्निपरिक्षा हो ।

सरकारले प्रतिस्पर्धाका आधारमा नभइ सिधै नियुक्ति गर्ने भएकाले यो पदमा राजनीतिक पहुँच र प्रभावका आधार नै योग्यताको अधिकतम आधार हुनेमा द्विविधा छैन ।
वर्तमान प्रधानमन्त्री केपी ओलीसँग भित्री सम्बन्ध रहेको पाण्डे आफू कार्यक्रम संयोजक बन्नेमा ढुक्क देखिन्छन् । तर, पाण्डेलाई पर्यटन क्षेत्रले भने रुचाएको छैन । उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्षसमेत हुन् ।

पर्यटन क्षेत्र भने श्रेष्ठको पक्षमा छ । प्रत्यक्ष पर्यटन व्यवसायमा नभए पनि नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि जोडिएका श्रेष्ठले भिजिट नेपाल १९९८ र नेपाल पर्यटन वर्ष २०११ लगायतका सबैजसो ठूला प्रवद्र्धनात्मक कार्यक्रममा कार्यकारी भूमिकामा रहेर काम गरिसकेका छन् ।

पर्यटन बोर्डको कार्यकारी प्रमुख रहेर कुशल नेतृत्व प्रदान गरिसकेका श्रेष्ठसँग अनुभव र योग्यता दुवै रहेको मात्र नभइ नेपाललाई विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्यता लिने अवस्थामा पु¥याएका कारण अन्तर्राष्ट्रिय स्तरमा समेत ज्ञान, अनुभव रहेको छ ।

तर, पाण्डेले भने विगतमा लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा उनको भित्रिया रहेर काम गरेको तथा पर्यटन क्षेत्रलाई समेत दुःख दिएको भन्दै व्यवसायी रुष्ट छन् । कार्कीका आफन्तसमेत रहेका पाण्डेले डा. गोविन्द केसी र कार्कीबीचको विवादका क्रममा केसीविरुद्ध लामो लेख नै प्रकाशित गरेका थिए ।
यस्तै, पाण्डे पाटा अध्यक्ष हुँदा भएको हिमालयन ट्राभल मार्टको खर्च पनि विवादमा तानिएको छ । फिस्टेल एयरका सीईओ तथा एक्स्प्लोर हिमालयका चेयरम्यान पाण्डे आफ्नो व्यवसायमा भने सफल मानिन्छन् ।

यता, नेपाल सरकारका सहसचिव छाडेर पर्यटन बोर्डमा कार्यकारी प्रमुख भएका श्रेष्ठ वाकपटुता भएका र सकारात्मक सोचले पर्यटन क्षेत्रलाई भाइब्रेन्ट बनाउने खुबी राख्छन् । पर्यटन बोर्ड भ्रष्टाचार प्रकरणमा अख्तियारले पूर्वाग्रहवश उनीमाथि मुद्दा चलाए पनि विशेष अदालतले उनीलगायत अधिकांशलाई सफाइ दिइसकेको छ ।

श्रेष्ठ र पाण्डेबाहेक राष्ट्रिय कार्यक्रम संयोजकका लागि प्रसिद्धबहादुर पाण्डे, श्यामसुन्दर लाल कक्षपति, विनायक शाह, वसन्त मिश्र, विक्रम पाँडे, सृजना राणालगायतको नाम चर्चामा छ ।

प्रकाशित : १३ असार २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह