Logo

Banner-news

बुद्ध एयरपछि यती एअरलाइन्स पनि बनारस जाँदै, प्रुभिङ फ्लाइट सम्पन्न


GDP Nepal
   १२ चैत्र २०७७, बिहिबार


काठमाडौं । नेपालबाट तीर्थयात्रा तथा व्यवसायका लागि बनारस जाने यात्रुको संख्या बढेसँगै वायुसेवा कम्पनीहरुको पनि बनारसमा उडानको रुचि बढिरहेको छ । बुद्ध एयरले बनारस उडान गरिरहेको छ भने यति एयरलाइन्स पनि त्यसमा थपिएको छ ।

यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।

दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर/नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महीनाअघि यतीले निवेदन दिएसँगै अन्तरराष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रियाअन्तर्गत यो उडान गरिएको हो ।

यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तरराष्ट्रिय उडानका लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको छ । आजको उडानको प्रतिवेदनसँगै केही दिनभित्र यती एअरलाइन्सले अन्तरराष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ ।

यो परीक्षण उडान एअरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेलसहितको उडान दलले गरेको थियो । एटिआर–७२ विमानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँबाट बिहान १०ः०७ बजे लालबहादुर शास्त्री अन्तरराष्ट्रिय हवाई अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो ।

उक्त परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा एअरलाइन्सका अफिसियलको सहभागिता रहेको थियोे ।

यती एअरलाइन्सले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्यसमेत राखेको छ । यती एअरलाइन्स र यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र होटलमार्फत स्वदेशी तथा विदेशी पर्यटनलाई सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको र आगामी दिनमा चार्टर उडानमार्फत थप पर्यटक भित्र्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

सन् २०२१ भित्रै दुई वटा एटिआर–७२ वायुयान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटिआर–७२ र जेटस्ट्रिम वायुयानमार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

प्रकाशित : १२ चैत्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह