Logo

Banner-news

‘हुन्डी र सहकारीले वित्तीय प्रणालीमा जोखिम’


GDP Nepal
   १४ चैत्र २०७७, शनिबार


काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हुण्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सिर्जना गरेको बताएका छन् ।

महानिरीक्षक थापाले सहकारी संस्थाबाट पनि वित्तीय प्रणालीमा जोखिम बढेको भन्दै सहकारीको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा राखे ।

नेपाल राष्ट्र बैंक, कानून महाशाखाले शनिबार काठमाडौंमा गरेको ‘बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण’ विषयक एक दिने अन्तरक्रियामा महानिरीक्षक थापाले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ कसूरमा नयाँ प्रवृत्ति थपिएको र तिनलाई विद्यमान कानुनले समाधान गर्न नसकेको धारणा राखे ।

“सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरू देखिन थालेका छन् । तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ,” अधिकारीले भने ।

अधिकारीले बैंकिङ कसुर र सजायसम्बन्धी कानुन जारी भएपश्चात् बैंकिङ कसुरजन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको उल्लेख गर्दै त्यसको निम्ति विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक, महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीका अधिकारीहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता बडालले बैंकिब प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

त्यसको निम्ति राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्ने उनको धारणा थियो ।

महान्यायाधिवक्ता बडालले भने, “विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।”

कानुन महाशाखाका निर्देशक थानेश्वर आचार्यले उद्घाटन सत्रको समापन मन्तव्य राखे भने डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको अध्यक्षतामा सञ्चालित छलफल सत्रमा तीन वटै निकायको तर्पmबाट कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।

सो अवसरमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंक सुपरिवेक्षकको रूपमा नेपाल राष्ट्र बैंकको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरे । यस क्रममा उनँले सुपरिवेक्षणको अवधारणा, कानुनी व्यवस्था, सुपरिवेक्षकीय अभ्यास र बैंकबाट भएका कारवाहीबारे चर्चा गरे ।

प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक सहकुल बहादुर थापाले ‘बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अनुभव, समस्या तथा सुधार गर्नुपर्ने विषयहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरे । ब्यूरोबाट हुने बैंकिङ कसुरको अनुसन्धान प्रक्रिया, कसुरजन्य क्रियाकलाप, बैंकिङ कसुरको अनुसन्धानमा देखिएका समस्या र समाधानका उपायबारे उनले चर्चा गरे ।

सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानले ‘बैंकिङ कसुर तथा बैंकिङसम्बन्धी
अन्य प्रचलित कानुनअन्तर्गतका कसुरको अभियोजनसम्बन्धी अनुभव, सोमा देखिएका समस्या, गर्नुपर्ने सुधार र अन्तरनिकायगत समन्वय’ विषयक कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा बैंकिङ कसुरसम्बन्धी बैंक तथा वित्तीय संस्थाका सुपरिवेक्षण, कसुरका
जाहेरी, अनुसन्धान, अभियोजन प्रक्रियाका विषयमा सहभागीहरूबीच विस्तृत छलफल भएको थियो ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्रमा समापन मन्तव्य राख्दै बैंकिङ कसुरका विद्यमान कानुनी व्यवस्थामा सुधार गर्दै तीन वटै निकायबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित : १४ चैत्र २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह