Logo

Banner-news

देशैभर वायु प्रदूषणको सकस, यस्ता रोगको जोखिम बढी छन् !


GDP Nepal
   १६ चैत्र २०७७, सोमबार


काठमाडौं । विगत चार दिनयता मुलुकभर वायु प्रदूषण फैलिएको छ । प्रदूषणको एकीन कारण थाहा नभए पनि खासगरी पहाडी क्षेत्रमा फैलिएको डढेलोका कारण यस्तो अवस्था आएको अनुमान गरिएको छ ।

वायु प्रदूषणले काठमाडौं उपत्यका लगायत अधिकांश क्षेत्रमा जनजीवन आतंकित छ । बाहिर निस्कँदा आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या देखिने समस्या आम नागरिकले बेहोरिरहेका छन् ।

तर, सरकारको भूमिका भने अहिलेसम्म रमितेमै सीमित छ । सर्वसाधारणलाई बाहिर ननिस्कन सूचना जारी गरेर जिम्मेवारीबाट पन्छिएको सरकार प्रदूषको कारण पत्ता लगाउन समेत असक्षम बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वक्तव्य जारी गर्दै सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ ।

डढेलोकै कारण प्रदूषण बढेको हो भने पनि त्यसको नियन्त्रणका लागि सरकारले जसरी तदारुकता देखाउनुपर्ने थियो, त्यो हुन सकेको छैन । सरकारको राजनीतिक हैसियत संकटमा परेका कारणले पनि उसले जनस्वास्थ्यमा गम्भीर असर पार्दा समेत कुनै चासो देखाउन सकेको छैन ।

त्यसो त यो वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरिरहेका छन् ।

अहिलेको प्रदूषणले विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न संक्रमणको जोखिम बढाएको छ । यो प्रदूषणले स्वस्थ मानिसलाई माथिल्लो श्वासनलीमा हुने संक्रमण हुने जोखिम धेरै हुन्छ ।

प्रदूषणले स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा संक्रमण हुनसक्ने देखिएको चिकित्सकहरु बताउँछन् ।

वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पर्न सक्छ । अहिलेको वायुमा कार्बन मनक्साइड , नाइट्रस अक्साइड जस्ता हानिकारक ग्यासको मात्रा रहेकाले आँखाको नानी र कोर्नीआको बाहिरको सतहमा असर पर्न सक्छ । यस्तै आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छन् ।

प्रदूषणका कारण आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने तथा भाइरस वा ब्याक्टेरिया प्रवेश गरेमा सङ्क्रमण हुने जोखिम बढेको चिकित्सकहरुको भनाइ छ । प्रदूषणको दीर्घकालीन प्रभावमा आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु पनि हुनसक्ने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रकाशित : १६ चैत्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह